९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिने उदाहरणीय वडाध्यक्ष

फलेवास नगरपालिका वडा नं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले जनप्रतिनिधि भवबापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाएका छन्।

उनले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गरेका छन्। उनले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गरेका छन्।

मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका आठ महिला समूहलाई रु दश हजारका दरले हस्तान्तरण गरेका छन् भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उद्देश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरेको तिवारीले बताए।

तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गरेका थिए। जनताहरूले नै अमुल्य मत दिएर आफूलाई जनप्रतिनिधि बनाएकाले आफूले पाउने तलबभत्ता उनीहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताए। उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उनको भनाइ छ। 

जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफूले भरपुर प्रयास गरेको उनको भनाइ छ। उनले सीमित स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पूरा गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। 

नगरपालिकाका प्रवक्ता समेत रहेका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिव पनि छन्। आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उनको भनाइ छ। 

रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिए। रासस

प्रकाशित: ४ कार्तिक २०८२ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App