२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

नौ बजे कार्यालय पुगेपनि दिनभर हराउँछन् कर्मचारी

सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरे पनि कर्मचारीहरूले त्यसको उल्लङ्घन गरेको पाइएको छ।

बिहान ९ बजे कार्यालय पुगेर हाजिर गर्ने तर दिनभर गायब भई साँझ ५ बजे पुनः हाजिर गर्न पुग्ने करिब एक हजार कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमनका क्रममा फेला पारेको हो।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा केन्द्रले गत सोमबारदेखि विभिन्न टोली परिचालन गरी दिनहुँ छड्के अनुगमन गरिरहेको छ। केन्द्रका एक अधिकारीका अनुसार सोमबार र मंगलबार मात्रै काठमाडौंका विभिन्न कार्यालयमा अनुगमन गर्दा ठूलो सङ्ख्यामा कर्मचारीले कार्यालय समय पालना नगरेको भेटिएको हो।

‘हामीले गरेको छड्के अनुगमनको क्रममा काठमाडौंका करिब एक हजार कर्मचारी बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म कार्यालयमा बसेको वा सेवा दिएको पाइएन,’ ती अधिकारीले भने, ‘बिहानै हाजिरी गर्ने र घर हिँड्ने गरेको देखियो। केही त बिहान आएपछि एकैपटक साँझ ५ बजे पुगी हाजिरी गर्ने गरेको पाइयो।’

केन्द्रले काठमाडौं उपत्यकाभित्रका शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा अनुगमन गरेको थियो। यसका साथै, सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा निकाय र नागरिकको बढी भिडभाड हुने नापी तथा मालपोत कार्यालयहरूमा पनि छड्के जाँच गरिएको थियो।

बुधबारदेखि केन्द्रले काठमाडौं उपत्यकाबाहिरका कार्यालयहरूमा पनि छुट्टै टोली बनाएर अनुगमन सुरु गरेको छ। उपत्यकाबाहिरका अधिकांश कार्यालयमा विद्युतीय हाजिरी (ई–हाजिरी) नभएको अनुगमन टोलीले जनाएको छ।

‘जेनजी आन्दोलनबाट केही कार्यालयका भवन नै जलेका छन्, त्यस्ता कार्यालयमा ई हाजिरी नहुँदा कार्यालय समय पूर्ण रूपमा पालना भएको पाइएन,’ उपत्यकाबाहिर खटिएका केन्द्रका अर्का कर्मचारीले भने।

सतर्कता केन्द्रले छड्के अनुगमनको प्रतिवेदन दैनिक रूपमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयलाई बुझाउन थालेको छ।

केन्द्रका सचिव सर्जुकुमार वैद्यले प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार नै दैनिक हाजिरी रिपोर्ट बुझाउने गरिएको जानकारी दिए। यसअघि केन्द्रले यसरी दैनिक रूपमा प्रधानमन्त्री कार्यालयलाई रिपोर्ट बुझाउने अभ्यास थिएन।

‘हामी बिहान ९ बजे नै सरकारी कार्यालयमा गएर अनुगमन गर्छौं,’ सचिव वैद्यले भने, ‘सामान्यतया हामीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको समय पालना भए वा नभएको विषयमा अनुगमन गर्ने गरेका छौं।’

प्रकाशित: २६ चैत्र २०८२ २०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App