यातायात व्यवस्था विभागले सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गरेपछिको विवाद अहिलेसम्म थामिनसक्नु छ। त्यही विवादको सिलसिलामा चिन्ताको रूपमा उठेको महत्त्वपूर्ण विषय हो - अंग्रेजी भाषाको प्रयोग।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्रै राख्ने भनेको छ। जसले नेपाली भाषालाई उपेक्षा गरेको आरोप लाग्ने गरेको छ।
विभागले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरेर राष्ट्रिय भाषालाई नै उपेक्षा गरेको भन्दै अहिले विभिन्न साहित्यकार, नेपाली भाषा साहित्यविद् र कला साहित्यसँग जोडिएका संघसंस्थाहरूले पनि विरोध जनाइरहेका छन्।
भाषा साहित्यको संरक्षण र संवर्द्धन लाग्नुपर्ने सरकारले नै यसरी नेपाली भाषाको प्रयोगलाई विस्थापित गर्दा त्यसले ठुलो चिन्ता बढाएको सबैको चिन्ता छ।
को के भन्छन् ?
नियात्राकार गीता रेग्मी सामान्य मान्छेबाट केही गल्ती हुँदा कारबाही गर्ने सरकारबाट इम्बोस्ड नम्बरको निर्णयले राष्ट्रिय भाषासँग खेलबाड भएको बताउँछिन्।
‘नेपाली भाषाको ठाउँमा अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने नेपाल सरकारको निर्णयप्रति मेरो घोर आपत्ति छ,’ रेग्मी भन्छिन्, ‘सरकारबाटै राष्ट्रिय भाषासँग खेलबाड गरेर आफ्नो देशको अस्तित्व मेटाउन तयार भएको देख्दा साह्रै दुःख लागेको छ।’
मुक्तककार कल्पना काफ्ले नेपाली भाषा नेपालको मुख्य पहिचान भएकाले सरकारबाट यस्ता गैह्रजिम्मेवार पूर्ण निर्णय अपेक्षित र क्षम्य नहुने बताउँछिन्।
उनी भन्छिन्, ‘आफ्नो भाषाको जगेर्ना गर्नु सरकारको मूल कर्तव्य हुन्छ। देशका सम्पूर्ण सवारी साधनमा नेपाली भाषाको प्रयोग गरेर आफ्नो देश, भेष र भाषाप्रति सरकारले जिम्मेवारी बोध गर्नुपर्छ।’
देशले आफ्नो भाषाको न्याय र सम्मान गर्नुपर्ने उपन्यासकार डा. किरण आचार्यको कथन छ। ‘हामी नेपाली हौँ। राज्यबाट केही नपाए पनि कम्तीमा देशको मूल भाषाले न्याय र सम्मान पाउनुपर्छ’, उनी भन्छन्।
यस्तै लेखन, सम्पादन र समालोचक धीरकुमार श्रेष्ठ पनि यदि इम्बोस्ड नम्बर राख्नुपर्ने नै भए नेपाली भाषामा राख्नुपर्ने बताउँछन्।

‘सवारी नम्बर प्लेट हुँदा आफ्नो भाषामा हुँदा देशको मर्यादा रहन्छ। अन्तर्राष्ट्रिय रूपमै पनि आ-आफ्नो भाषामा इम्बोस्ड नम्बर राख्ने चलन पनि छ,’ उनले भने।
नियात्राविद् निर्मोही व्यासको धारणामा सरकारबाट भएको यो निर्णय आपराधिक कर्मजस्तै संगीन भएको बताउँछन्। उनले भने, ‘यस्तो आपराधिक कार्यको कुनचाहिँ असल व्यक्तिले समर्थन गर्न सक्छ ?’
यस्तै डा. हरि भण्डारी जनस्तरबाट विरोध भइरहेको यस्तो गम्भीर कुरालाई सरकारबाट बेवास्ता गर्न नहुने बताउँछन्। ‘गाडीहरूमा इम्बोस्ड नम्बर राख्ने नै हो भने पनि नेपाली भाषामा राखिनुपर्छ,’ उनी भन्छन्।
नेपालमा सवारी साधनको नम्बर प्लेट राख्न थालेदेखि नै नेपाली भाषाको प्रयोग गरिएको छ। अहिले इम्बोस्ड नम्बर राख्नथालेपछि अंग्रेजी बनाइदेखि त्यसको आलोचना भइरहेको छ।
समालोचक ज्ञानु अधिकारीले भाषा, स्वाभिमान र आस्थामाथिको भएको प्रहार स्विकार्य नहुने बताइन्। ‘यो अति नै निन्दनीय र दुखलाग्दो कुरा हो। यो कुनै हालतमा पनि स्विकार्य छैन।हाम्रो भाषा, स्वाभिमान र आस्थामाथिको प्रहार हो।’

‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’का अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइँटेल संवैधानिक मान्यताप्राप्त नेपाली भाषालाई छोडेर अंग्रेजी भाषा प्रयोग हुँदा कालान्तरमा नेपाली भाषा मासिने खतरा देख्छन्।
‘नेपाली भाषा सबैले बुझ्ने संवैधानिक साझा भाषा हो। नेपाली भाषा धेरैले बुझ्ने भाषा छोडेर अंग्रेजीमा इम्बोस्ड नम्बर राख्न मिल्दैन,’ उनी भन्छन्, ‘इम्बोस्ड नम्बरसँगै राखिने चिप्सबाट विदेशी ठेकेदार कम्पनीले हाम्रो गोपनीयता सबै लग्ने खतरा पनि हुन्छ। आफ्नो गोपनीयता भंग गर्न दिनु हुँदैन।’
संघसंस्थाको पनि विरोध
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा अनिवार्य गरेको विषयमा नेपाल लेखक संघ, सुनकोसी वाङ्मय प्रतिष्ठान, हास्यव्यङ्ग्यको मझेरी ‘बांगा अक्षर’जस्ता कला तथा साहित्यिक संस्थाले पनि विज्ञप्ति नै निकालेर विरोध जनाएका छन्।
हास्यव्यङ्ग्यको मझेरी ‘बांगा अक्षर’ले नेपाल सरकारले अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय फिर्ता लिन माग गरेको छ।

विज्ञप्तिमार्फत नेपाल सरकारले सार्वजनिक साइनबोर्डका रूपमा रहेको गाडीको नम्बर प्लेट अंग्रेजीमा मात्र अनिवार्य गर्न खोज्नु संविधान विपरीत भएको बताएको छ।
नेपाली भाषालाई विस्थापित गरेर अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने कार्य नेपाल सरकारले तीव्रता दिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनेर स्पष्ट लेखिएको छ।
सरकारी कामकाजको भाषामा सरकारका दस्ताबेज, चिठ्ठी पत्र, सार्वजनिक सूचना र साइनबोर्ड समेत पर्दछन्। गाडीको प्लेट नम्बर पनि सार्वजनिक साइनबोर्ड नै हो । अंग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्नु नेपाली भाषा विस्थापित गर्ने आधिकारिक सरकारी अभियान हो।’
विज्ञप्तिमा भाषा र संस्कृति हराएपछि समाज पहिचानविहीन हुने चिन्ता उल्लेख छ। ‘कुनै देश र समाजको भाषा र संस्कृति मरेपछि आयातित भाषा र संस्कृतिले ठाउँ लिन्छ। त्यसपछि समाज त्यसै पहिचानविहीन बन्ने रहेछ’, विज्ञप्तिमा भनिएको छ।
अन्तर्राष्ट्रिय प्रचलनको हवाला दिँदै अंग्रेजीमा नम्बर प्लेट राख्न जायज हुने तर्क उठिरहेकामा पनि बांगा अक्षरको आपत्ति छ।

‘नेपाली जिब्रोमा गुन्द्रुक भातले दिने स्वाद बर्गरले दिँदैन। अफ्रिका लगायत विश्वका अधिकांश देश कुनै न कुनै बेला बेलायत र अन्य युरोपियन देशका उपनिवेश थिए। उनीहरूको सरकारी कामकाजको भाषा अंग्रेजी हो। त्यही भएर उनीहरू अंग्रेजीमा लेख्न बाध्य छन्’, विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १२ भाद्र २०८२ १४:२७ बिहीबार





