२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

सिटी सफारीको ठक्करबाट वृद्धको मृत्यु प्रकरण : चालक पक्राउ

विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई अस्पताल लैजानुको सट्टा सडकमा छाडेर फरार भएका चालक पक्राउ परेका छन्।

विराटनगर-९ ठकुरवाडी रोडमा प्रदेश १-०२-००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर-८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमै राखेर अस्पताल पठाएका थिए।

तर, उपचारका लागि अस्पताल लैजानुपर्ने ती वृद्धलाई चालकले सडकमै छाडेर सिटी सफारीसहित फरार भएको खुलेको छ। केही समयपछि वृद्धको शव सडकमा भेटिएको थियो। 

डिएसपी मिश्रले भने, ‘सिटी सफारीले ठक्कर दिएपछि चालकले घाइते बस्नेतलाई उपचारका लागि अस्पताल पुर्‍याउनुको सट्टा विराटनगर-७ स्थित मालपोत कार्यालय नजिकै सडकमा छाडेर सफारीसहित फरार भएको खुलेको छ। केही समयपछि त्यही स्थानमा बस्नेत मृत अवस्थामा फेला परेका थिए।’

आइतबार बिहान साढे ६ बजेतिर मालपोत कार्यालय नजिकै वृद्धको शव भेटिएको सूचना पाएपछि मोरङ प्रहरीले अनुसन्धान थालेको थियो। डिएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली गएको थियो। सुरुमा वृद्धको पहिचान भएन। पछि विराटनगर-८ का माधव बस्नेतले मृतक वृद्ध आफ्नो बुवा रहेको भनेर सनाखत गरेको प्रहरीले जनाएको छ। 

चालकले दुर्घटनामा घाइते भएका वृद्धलाई अस्पताल नपुर्‍याई सडकमा छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनापछि सिटी सफारीसहित फरार भएका चालकको खोजी तीव्र बनाएको थियो। 

अनुसन्धानका क्रममा बिहान साढे ८ बजेतिर कटहरी गाउँपालिका-२ का ५५ वर्षीय सिटी सफारी चालक अर्जुन भगतलाई उनकै घरबाट पक्राउ गरिएको हो। डिएसपी मिश्रले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट वृद्धलाई सिटी सफारीले ठक्कर दिएको र चालकले अर्कै ठाउँमा लगेर सडकमा फालेर फरार भएको पाइयो। तर, सफारी चालकको पहिचान हुन सकेको थिएन। तीव्रताका साथ खोज तलास तथा अनुसन्धानका कारण तत्काल पहिचान गरेर घटनामा संलग्न चालकलाई पक्राउ गर्न सफल भइयो।’

पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App