तनहुँमा भएका छुट्टा छुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन्। भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा भएको बस दुर्घटनामा १२ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए।
थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना भएको थियो। घाइते हुनेमा पोखरा महानगरपालिका-३२ बस्ने ४० वर्षीय रमेश आचार्य, तनहुँको म्याग्दे गाउँपालिका-१ बस्ने ६७ वर्षीय रनबहादुर थापा, सोही ठाउँ बस्ने मोतीबहादुर थापा, ९० वर्षीय पशुपतिनाथ घिमिरे, २२ वर्षीया अस्मिता शाही, ६९ वर्षीय पदमबहादुर दर्लामी, ऋषिङ गाउँपालिका-२ बस्ने ५० वर्षीय नरबहादुर माकिम, घिरिङ गाउँपालिका-३ बस्ने ५२ वर्षीय ऋषिराम थापा, १५ वर्षीया कञ्चन थापा, ४६ वर्षीय देउबहादुर थापा, २७ वर्षीया सुमित्रा थापा, चितवनको भरतपुर महानगरपालिका-१ बस्ने ५० वर्षीय सूर्यकला आचार्य रहेका छन्।
घाइते सबैको प्रदेश अस्पताल दमौलीमा उपचार हुँदै छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्।
डुम्रेबाट दमौली आउँदै गरेको ग ५ प ७९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका-४ बस्ने ३३ वर्षीय आशिष गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।
शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०२-०५७ प २६९२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ९ प ७९१८ नम्बरको मोटरसाइकल एक अर्कामा ठक्कर खाँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बा प्र ०२-०५७ प २६९२ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक बारबिसे गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सवार २८ वर्षीय कमल श्रेष्ठ घाइते भएका छन्। उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार हुँदै छ।
यस्तै आँबुखैरेनी गाउँपालिका-१ बरादीमा डुम्रेबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २१ प ३०७६ नम्बरको स्कुटर सडक छेउको पोलमा ठक्कर खाई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्कुटर चालक गोरखा नगरपालिका-४ बस्ने २६ वर्षीय राजकुमार दरै र ६० वर्षीया सुकमाया दरै छन्।
शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा पोखराबाट दमौली आउँदै गरेको ग २ च ७९७१ नम्बरको कारको ठक्करबाट दुई पैदलयात्री घाइते भएका छन्। घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका-३ कवासे बस्ने ३० वर्षीय अप्सरा श्रेष्ठ र ११ वर्षीय समिर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
आँबुखैरेनी गाउँपालिका-१ एक्लेफाँटमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०२ - ०५८ प. २९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेम परियार घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै भीमाद नगरपालिका-५ ऋषिङपाटनस्थित भीमादबाट ऋषिङपाटन जाने भित्री सडक खण्डमा भीमादबाट ऋषिङ पाटनतर्फ जाँदै गरेको ग ८ प १७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय अमृत परियार घाइते भएको प्रहरीले जनाएको छ।
बन्दीपुर गाउँपालिका-१ पिप्लेमा म.प्र.०३-०४० प १६४१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुरेशकुमार राई र ३० वर्षीया सोनाम थापा घाइते भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०८२ १२:२० शुक्रबार





