२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कुपोषणविरुद्ध लड्न आमाहरूलाई अण्डा र घ्यू बाँडियो

जुम्लाको सिंजा गाउँपालिकाले दुई वर्षमुनिका कुपोषित बालबालिकाको स्वास्थ्य सुधारको लक्ष्यसहित पोषणयुक्त आहार वितरण गरेको छ। गाउँपालिका भित्रका १ देखि ६ वडासम्म स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकाको पोषण अवस्थाबारे अध्ययन तथा तथ्यांक संकलन गरेपछि आहार वितरण गरिएको हो।  

गाउँपालिकाको स्वास्थ्य शाखाले गत कार्तिक २० देखि २६ सम्म प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग, पेस नेपालको सहजीकरण तथा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३ सय १५ जना बालबालिकाको पोषण–सम्बन्धी सूचकांक मापन गरेको थियो। उक्त अभियानमा स्वास्थ्यकर्मीले बालबालिकाको वजन, उचाइ, पाखुराको नाप लगायत सम्पूर्ण सूचकांक लिएर अवस्थाको वर्गीकरण गरेका थिए।  

स्वास्थ्य शाखा प्रमुख ललित बहादुर रोकायका अनुसार संकलित तथ्यांकमा २ जना बालबालिका अति जोखिम कुपोषित, २२ जना जोखिम कुपोषित र बाँकी २ सय ९१ जना सामान्य अवस्थामा रहेको पाइएको छ। चिसो समयमा आमाहरू स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने भएकाले स्वास्थ्यकर्मीलाई समुदायमै खटाइएको उनले बताए।  

पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले गाउँपालिकाले सोमबार बालबालिकाका आमालाई पोषणयुक्त सामग्री वितरण गरेको छ। वितरण गरिएको सामग्रीमा एक क्यारेट अण्डा, एक–एक किलो चना, केराउ, भटमास तथा एक पाउ स्थानीय घ्यू समावेश छ।  

‘कुपोषण निर्मूलन गरी पोषणमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यअनुरूप पोषणयुक्त आहार उपलब्ध गराइएको हो, यसले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ,’ रोकायाले भने।  

गाउँपालिकाले आगामी दिनमा पनि कुपोषण जोखिममा परेका बालबालिकालाई अनुगमन र आवश्यक सहयोग निरन्तर जारी राख्ने जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८२ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App