२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सुरक्षा चुनौती रहेको इटहरीमा प्रहरी कार्यालय पुन:स्थापना गर्न सकस

इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी र तोडफोड गरिएपछि डिएसपीको कमाण्डमा रहेको प्रहरी टोली बस्दै आएको तरहरा प्रहरीको चौकीको नयाँ भवन।

जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि यति बेला पुन:स्थापना गर्न सकस परेको छ। सुरक्षा चुनौती मानिएको इलाका प्रहरी कार्यालय यति बेला प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेकाले गर्दा पुरानै स्थान वा इटहरी बजारसँगै आसपासका क्षेत्रलाई पायक पर्ने स्थानमा पुन:स्थापना गर्न सकस भएको हो।  

प्रहरी कार्यालय पूर्ण रूपमा काम नलाग्ने भएकाले अरु नयाँ उपयुक्त स्थान अहिलेसम्म पनि पहिचान गर्न नसक्दा समस्या भएको हो। ‘प्रहरी कार्यालयका लागि लोकेशन पहिचान गर्ने सन्दर्भमा सहमति जुटेको छैन,’ भर्खरै सरुवा भएर आएका डिएसपी सुभाष हमालले शनिबार पत्रकारसँग परिचय तथा भेटघाट कार्यक्रममा भने, ‘यति बेला कसरी हुन्छ, प्रहरी कार्यालय पुन:स्थापना गर्नेमा मुख्य ध्यान छ।’  

जेन–जी आन्दोलनको पहिलो दिन इटहरीमा दुई जनाको मृत्यु भएपछि त्यसको भोलिपल्ट आक्रोसित भएको समूहले विभिन्न सरकारी कार्यालय, सार्वजनिक पद धारण गरेका व्यक्ति र प्रहरी कार्यालयलाई निसाना बनाएर आगजनी तथा तोडफोड गरेको थियो। जसमा प्रहरी कार्यालयतर्फ इलाका प्रहरी कार्यालय इटहरीसँगै हलगडा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पकली आगजनी गरेका थिए।

हलगढा र इलाका प्रहरी कार्यालय पकली दुवै पुन:स्थापित भइ सकेका छन्। खनार प्रहरी र जनता बस्तीको प्रहरी चौकीमा आंशिक क्षति भएको थियो। तरहराको प्रहरी चौकी जलाउन गएको समूहलाई भने स्थानीयले प्रतिकार गरेपछि जोगिएको थियो।  

त्यही जोगिएको प्रहरी चौकीको नयाँ भवनसँगै वन कार्यालयको हलभित्र यतिबेला इलाका प्रहरी कार्यालयका प्रहरी बसिरहेका छन्। इलाका प्रहरी कार्यालयका दुईवटा गाडी पनि जलेका थिए। जसले गर्दा यति बेला प्रहरीले प्रहरी चौकीको तरहरासँगै प्रहरीकै व्यक्तिगत सवारीसाधन मोटरसाइकल प्रयोग गरेर भए पनि गस्ती गर्न थालेको नयाँ डिएसपी हमालले बताए।

उनले भने, ‘अहिले ठाउँ अभावले गर्दा आवश्यक जनशक्ति जिल्लाबाट बिहान ल्याएर बेलुका फिर्ता गर्ने पनि गरिएको छ, कार्यालय पुन:स्थापना भयो भने आवश्यक शान्ति सुरक्षा मिलाउन सहज हुनेछ।’ उनका अनुसार जेन-जीको नाममा मनोमानी ढंगले सरकारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिको घर आगजनी तथा तोडफोड गर्नेको पहिचान गरी कारबाही गर्ने पनि बताए।  

इलाका प्रहरी कार्यालय पुन:स्थापित नहुँदा बजार क्षेत्रका बासीन्दा र व्यापारी बढी मात्रमा त्राहीमाम छन्। ‘अपराधका घटना बढी मात्रमा बजार क्षेत्रमा हुन्छन्, अनि प्रहरी नै नहुँदा थप अपराध बढ्ने निश्चित छ, त्यही भएर बजार क्षेत्रमा प्रहरी कार्यालय ल्याउन नगर प्रमुखसँग बारम्बार छलफल गरिरहेका छौं,’ उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने, ‘एकान्त जंगल छेउमा प्रहरी कार्यालय भएर त बजार क्षेत्रका व्यापारीको सुरक्षा हुँदैन।’

इटहरी क्षेत्रमा बर्सेनि चाडपर्वमा चोरी, ठगी, लुटपाट, अपराध र झै–झगडाका बढ्ने गरेका छन्। चाडपर्वमा लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य हुने गरेको छ। यसैगरी, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार, लागूपदार्थ सेवन गर्ने बढेर पनि विभिन्न खाले शान्ति सुरक्षामा खलल पुग्ने घटनाहरू हुने गरेका छन्।  

इटहरीमा डिएसपीको दरबन्दीमा इलाका प्रहरी कार्यालय छ। त्यस्तै, इटहरीको जनसंख्या वृद्धिसँगै इलाका प्रहरी कार्यालय पकलीले पनि चारवटा वडा वडा नं. १५, १६, १७ र १८ को शान्ति सुरक्षालाई आफ्नो क्षेत्राधिकारभित्र राखेर हेर्ने गरेको छ। इटहरीको तरहरामा नयाँ र पुरानो गरेर दुईवटा, खनार र वडा बालग्राममा स्थायी प्रहरी चौकी रहेको छ।

यस्तै, तालतलैया, हवाई चोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बुढी खोला र शान्ति झोडामा अस्थायी प्रहरी चौकी रहेको छ। यहाँ सिआरभी प्रहरीको बिट पनि रहेको छ। अहिले इटहरी मातहात १६१ प्रहरीको दरबन्दी छ।  

इलाका प्रहरी कार्यालयमा भने अलग्गै प्रहरीको नेतृत्वमा प्रहरीको दरबन्दी रहेको  छ। जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएको इटहरीमै रहेको प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय पनि पुन:स्थापित भएको छ।  

हुन त इलाका प्रहरी कार्यालय निर्माण गर्नका लागि प्रहरी प्रधान कार्यालयले दश वर्षअघि नै दुई करोडभन्दा बढी बजेट छुट्याएको थियो। पूर्वकै केन्द्रमा पर्ने र शहरीकरणलाई पन्छयाइरहेकाले विभिन्न खाले अपराधका घटना हुने गरेकाले गर्दा जेन-जी पुस्ताले तोडफोड तथा आगजनी गरेको इलाका प्रहरी कार्यालयलाई वडा प्रहरी कार्यालय बनाएर अलग्गै स्थानमा इलाका निर्माण गर्न बजेट छुट्याएको थियो।

यद्यपी, त्यति बेला उपयुक्त जग्गा नभेटिएपछि त्यो पैसा फिर्ता भएको थियो। त्यो बेला कम्तीमा दश कट्ठा जग्गा खोजी भएको थियो। जग्गा इटहरीको चौबाटोबाट पायक पर्ने र सर्वसाधारण सहजै पुग्न सक्ने स्थान जुन सकभर इटहरीको चौबाटोबाट पायक पर्ने वा तीन किलोमिटरसम्म वरपरसम्म जग्गा खोजिएको थियो। तर, जग्गा भेटिएन।  

पछिल्लो दुई दशकयता पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, तेह्रथुम, धनकुटालगायतका जिल्लासँगै पूर्वी तराईका स्थानबाट बसाइँ सर्नेको संख्या बढेको र विभिन्न खाले गतिविधि हुने गरेकाले गर्दा सुरक्षा चुनौती थपिँदो छ।

प्रकाशित: ११ आश्विन २०८२ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App