विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ।
संयुक्त राष्ट्रसंघीय मौसमसम्बन्धी निकाय विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक गरेको ‘जलस्रोतको विश्वव्यापी अवस्था–२०२५’ ले यस्तो देखाएको हो। डब्लुएमओले विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरोकारवाला पक्षलाई सुझाएको छ।
‘यो एक वर्षको खराब अवस्थाका कारण नभई एक दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो,’ डब्लुएमओकी महासचिव सेलस्टे साउलोले हालै प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भनिन्।
पछिल्लो ३५ वर्षमा विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् २०२५ रहेको प्रतिवेदनमा उल्लेख छ।
२०२५ मा विश्वका नदी बेसिन क्षेत्रको ३६ प्रतिशत भूभागमा बहाव औसतभन्दा कम थियो। ऐतिहासिक रूपमा सामान्य बहाव भएका नदीहरूमा समेत लगातार सातौं वर्ष बहाव घटेको पाइएको छ। यसले विश्वको जलचक्र झन् अनियमित र पूर्वानुमान गर्न कठिन बन्दै गएको डब्लुएमओले जनाएको छ।
‘पानीसँग सम्बन्धित चरम घटनाले समुदाय र अर्थतन्त्रलाई निरन्तर तहसनहस पारिरहेका छन्,’ साउलोले भनिन्।
पानी ‘बचत खाता’
भूमिगत पानी, हिमनदी, हिउँ, माटोको चिस्यान, ताल तथा जमिनमा सञ्चित अन्य ताजा पानीले सुख्खा र सुख्खा मौसममा महत्त्वपूर्ण सुरक्षा कवचको काम गर्छन्। साउलोले यी तुलनात्मक रूपमा ढिलो परिवर्तन हुने पानी भण्डारलाई पृथ्वीको ‘बचत खाता’ को संज्ञा दिएकी छन्।
परम्परागत रूपमा यी भण्डारले खराब वर्षको असर केही समयसम्म थेग्ने गरेको र एक वर्ष वा एक मौसममा पानी कम पर्दैमा त्यसले तत्काल पानीको संकट निम्त्याउने अवस्था हुदैनथ्यो। ‘तर अहिले यो बचत खाता नै घट्दो क्रममा छ,’ उनले भनेकी छन्।
उनका अनुसार सन् २०१४–२०१६ देखि जमिनमा सञ्चित पानीको मात्रा घटिरहेको छ। भूमिगत पानीको सतह पनि धेरै क्षेत्रमा लगातार घट्दै गएको छ। सन् २०२५ मा अनुगमन गर्दा करिब दुई तिहाइ इनारमा पानीको मात्रा सामान्य अवस्थाभन्दा कम थियो। पुनर्भरण हुने अवस्थाभन्दा पानीको अभाव झन् बढ्दो क्रममा रहेको प्रतिवेदनले औंल्याएको छ।
उक्त अवधिमा केही सकारात्मक संकेत पनि देखिएका छन्। दक्षिण अमेरिकाका केही क्षेत्रमा लगातार धेरै वर्षसम्म रहेको पानीको गम्भीर अभावपछि पानी सञ्चितिमा आंशिक सुधार आएको छ। त्यस्तै मध्य र दक्षिणी अफ्रिकाका केही प्रमुख तालमा भने पानीको सतह औसतभन्दा निकै माथि देखियो।
हिमनदी पग्लिने क्रम तीव्र
विश्वका सबै प्रमुख हिमनदी क्षेत्रमा लगातार चौथो वर्ष पनि हिउँ तथा बरफको मात्रा घटेको छ। ‘विश्वका सबै १९ हिमनदी क्षेत्रले बरफ गुमाएका छन्,’ डब्लुएमओका जलविज्ञान तथा क्रायोस्फियर निर्देशक वेन जेन्किन्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सन् २०२५ मा मात्रै विश्वका हिमनदीले करिब ४०८ गिगाटन बरफ गुमाएका छन्। २०२३ देखि २०२५ सम्म तीन वर्षमा हिमनदीबाट भएको कुल बरफको क्षति करिब १४ सय गिगाटन पुगेको छ। यो मात्रा विश्वले एक वर्षमा प्रयोग गर्ने कुल ताजा पानीको करिब एक तिहाइ बराबर हो।
मध्य युरोप, ककेसस तथा पश्चिमी क्यानडा र अमेरिकाजस्ता क्षेत्रमा रहेका साना हिमनदीले सम्भवतः हिमनदीबाट सबैभन्दा धेरै पानी प्राप्त हुने चरण (पिक वाटर) पार गरिसकेको हुन सक्ने चेतावनी जेन्किन्सनले विज्ञप्तिमार्फत दिएका छन्।
यसपछि पग्लन बाँकी बरफ नै कम हुँदै जाने भएकाले हिमनदी पग्लेर प्रवाह हुने पानी हरेक वर्ष घट्दै जाने वैज्ञानिकको भनाइ छ। ‘यसले गर्मी र सुख्खामा पानीका लागि हिमनदीमा निर्भर तल्लो तटीय समुदायलाई असर गर्छ,’ उनले भनेका छन्।
डब्लुएमओकी पूर्वानुमान तथा सेवा प्रमुख नरेली भान डर वेलले हिमनदी क्षति रोक्न नसकिने भए पनि भविष्यमा हुन सक्ने कुल क्षतिको परिमाण अहिल्यै आकलन गर्न नसकिने बताइन्। ‘हिमनदीमा हुने केही क्षति अपरिहार्य मानिन्छ तर हिमनदी पूर्ण रूपमा क्षयीकरण हुनु अपरिहार्य मानिँदैन,’ उनले भनिन्।
भविष्यमा हुने क्षति सीमित गर्न हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण हुने उनको भनाइ छ।
बदलिँदै पानीको पुरानो आधाररेखा
प्रतिवेदनले हाल देखिएका सबै असरलाई जलवायु परिवर्तनकै उपज भनेर किटान भने गरेको छैन। पानीमाथिको बढ्दो दबाब र प्राकृतिक उतारचढाबले पनि यसमा योगदान रहेको डब्लुएमओले जनाएको छ तर जेन्किन्सनका अनुसार सरकारले अब विगतका आधाररेखा (बेसलाइन) लाई ध्यानमा राखेर योजना बनाउन आवश्यक छ।
विगतमा सामान्य मानिएको अवस्था अब भविष्यको विश्वसनीय आधार नहुने उनको तर्क छ। ‘३० वर्षअघि हामी जुन अवस्थामा थियांै। अब त्यो अवश्था छैन। वास्तवमै संघारमै आइसकेका परिवर्तनका लागि विश्व तयार हुनु पर्छ,’ उनले भनेका छन्।
पछिल्ला पाँच वर्षमा विश्वभर भएका पानीसम्बन्धी विषम मौसमी घटनामध्ये एसिया र अफ्रिकामा मात्र आधा छन्। यस्ता घटनाबाट भएका मृत्युको ८० प्रतिशतभन्दा बढी हिस्सा पनि यी दुई महादेशको छ। साथै जलसम्बन्धी अवलोकन तथा तथ्यांक संकलनमा सबैभन्दा ठुलो अभाव खेपेका महादेशमा पनि एसिया र अफ्रिका पर्छन्।
डब्लुएमओले पाँच वर्षअघिदेखि यस्तो प्रतिवेदन प्रकाशन गर्न गर्दै आएको छ। ती प्रतिवेदनमा पानीसम्बन्धी अनुगमनमा उल्लेख्य सुधार भएको देखिन्छ। अहिले ५२ देशले ३१ सयभन्दा बढी नदी बहाव मापन केन्द्रबाट तथ्यांक उपलब्ध गराइरहेका छन्।
पहिलो प्रतिवेदन तयार हुँदा सात देशका केवल १४ वटा केन्द्रबाट तथ्यांक प्राप्त हुन्थ्यो तर जलस्रोतको अवस्थामा तीव्र परिवर्तन भइरहेका बेला अझ राम्रो अनुगमन, तथ्यांक आदानप्रदान र पूर्वसूचना प्रणाली अत्यावश्यक हुने डब्लुएमओले जनाएको छ।
हालै नेपाल–चीन सीमाक्षेत्रमा भएको विपद्लाई डब्लुएमओले ‘विनाशकारी संयुक्त संकट’ का रूपमा वर्णन गरेको छ। चट्टान र हिमनदीमा आएको क्षतिसँग सम्बन्धित उक्त घटनाले यस्ता विपद्को पूर्वानुमान कति कठिन हुन सक्छ भन्ने देखाएको डब्लुएमओको भनाइ छ।
‘पानीले राजनीतिक सीमा मान्दैन। त्यसैले हामीलाई साझा तथ्यांक, साझा मापदण्ड र साझा पूर्वसूचना प्रणाली आवश्यक छ,’ साउलोले भनिन्।
प्रकाशित: ८ आश्विन २०८३ ११:१९ बिहीबार





