ताप्लेजुङमा एकपछि अर्को गर्दै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित हुन थालेका छन् । देशको विद्यमान अवस्थालाई कारण देखाउँदै सार्वजनिक कार्यक्रम गर्न असहज महसुस भएको भन्दै आयोजकहरुले तत्कालका लागि धमाधम कार्यक्रम स्थगित गर्न थालेका हुन् ।
चर्चित साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा ताप्लेजुङको फुङलिङमा असोज ६ गते गर्न लागिएको साहित्य उत्सव कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । कार्यक्रमका संयोजक सागर मादेनले देशको पछिल्लो अवस्था पूर्णतया सामान्य अवस्थामा नफर्किञ्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
यस्तै ङावोरक सङ्जुम्बो फुङ्लेङको आयोजना तथा मन्त्र ब्याण्ड समेतको उपस्थितिमा हुन लागेको लाइभ कन्सर्ट स्थगित गर्ने तयारी गरिएको छ । ङावोरक सङ्जुम्बो फुङ्लेङका एक अगुवा कुलदीप मादेनले विद्यमान असहज परिस्थतिका कारण तयारी नपुग्ने कारण देखाउँदै उक्त कार्यक्रम असोज २१ मै गर्न कठिन हुने जानकारी दिए । ‘अवस्था सामान्य भएपछि पूर्ण तयारीका साथ कार्यक्रम गर्ने योजना बनाईरहेका छौं’ मादेनले कार्यक्रम स्थगित भएको औपचारिक सूचना प्रेषण गर्ने तयारी भईरहेको बताउँदै भने ।
ङावोरक सङ्जुम्बो फुङ्लेङका अनुसार सामुदायिक भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न उक्त लाइभ कन्सर्ट गर्न लागिएको थियो । कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुति रहने तयारी थियो ।
दीपज्योति युवा क्लव पाँचथरको आयोजनामा इलाममा हुने रेडपाण्डा म्याराथन प्रतियोगिता स्थगित भएको छ । असोज ४ गते इलाम चोक बजारबाट सन्दकपुर गाउँपालिकासम्मको ४४.२ किलोमिटर दुरीमा हुने म्याराथन स्थगित भएको दीपज्योति युवा क्लव परियोजना कार्यालय इलामका परियोजना संयोजक राम रिमालले जानकारी दिए ।
प्रथम रेडपाण्डा म्याराथन अघिल्लो वर्ष ताप्लेजुङमा भएको थियो । हरेक वर्षको सेक्टेम्बर २० मा दिन अन्तराष्ट्रिय रेडपाण्डा दिवस मनाइन्छ । उक्त अवसरमा रेडपाण्डा म्याराथन हुन लागेको थियो । यो दिवस अघिल्लो वर्ष असोज ५ गते मनाईएको थियो ।
प्रकाशित: १ आश्विन २०८२ १२:५७ बुधबार





