नेपाल–भारतबिच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष कोसी प्रदेशमा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।
प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरका क्षेत्रबाट बढी मात्रामा लागुऔषध कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन्। खुला सीमा र दुई मुलुकबिच जोडिएको बस्तीको फाइदा उठाउँदै लागुऔषध ओसारपसार हुने गरेको प्रहरी भनाइ।
प्रहरीले प्रदेशका मुख्य नाकामा कडाइ गरे पनि खुला सीमाका कारण अन्य क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसक्दा कारोबारी र प्रयोगकर्तालाई फाइदा पुग्ने गरेको हो।
मोरङसँग ६३ किलोमिटर खुला सीमा र दुवैतर्फ जोडिएको बस्तीलाई लागुऔषध कारोबारीले प्रयोग गरेका छन्। लागुऔषधको कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ।
पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउने लगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको हो। कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन्।
१५ देखि ३५ वर्षसम्मका युवायुवती बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला–पुरुषले लागुपदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन्। झापाको काँकरभिट्टा, सुनसरीको भन्टाबारी र मोरङको जोगबनी, रंगेली नाकाआसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ।
पछिल्लो समय कोसी प्रदेशबाट गाँजा भारततर्फ तस्करी हुने गरेको छ। प्रहरीले दैनिकजसो झापा, सुनसरी र मोरङको मुख्य नाकाबाहेक अन्य नाकाबाट तस्करी गर्दै गर्दा गाँजा विभिन्न परिमाणमा बरामद गर्दै आएको छ।
कोसी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३ सय ९३ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भयो भने २ हजार ७ जना पक्राउ परेका छन्। सबैभन्दा बढी सुनसरीमा ४७४ मुद्दा दर्ता भएको थियो भने ७०६ जना पक्राउ परेका थिए।
त्यस्तै २०८१/८२ मा १ हजार ४ सय ३७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए। लागुऔषध मुद्दामा २ हजार २ सय ७६ जना पक्राउ परेका थिए। २०८०/८१ मा १ हजार ३९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको मा १ हजार ५ सय ९० जना पक्राउ परेको कोसी प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। प्रदेशको झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी मुद्दा दर्ता हुने, पक्राउ पर्ने र लागुऔषध बरामद हुने गरेको छ।
लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने ‘आइस’ लगायत चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्स जस्ता लागुऔषध बढी कारोबार हुने गरेको छ। लागुऔषध ‘आइस’ १०/१२ वर्षअघि एकपटक विराटनगरबाट प्रहरीले बरामद गरे पनि त्यसयता भेटिएको छैन।
कोसी प्रदेशमा पछिल्लो तीन वर्षमा लागुऔषध कारोबार मुद्दा दर्ता कमी आए पनि कारोबार (लागुऔषध संख्या) बढ्दो रूपमा देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा कोसी प्रदेश भर गाँजा २७ हजार ६९३ किलो ५७० ग्राम ३८ मिलीग्राम, चरेस १४५ ग्राम १४० मिलीग्राम, ब्राउन सुगर १० किलो ३८७ ग्राम ५३१ मिलीग्राम, विभिन्न मनोद्विपक चक्की/क्याप्सुल ७ लाख ४४ हजार ४५७ चक्की, विभिन्न मनोद्विपक सुइ (एम्पुल) ३ हजार ९ सय १९ र अन्य विभिन्न मनोद्विपक औषधि ४० थान बरामद गरेको छ।
सुनसरीमा गाँजा १७ हजार १६३ किलो ९७४ ग्राम, चरेस १३५ ग्राम १४० मिलीग्राम, ब्राउन सुगर २ किलो ९३९ ग्राम र विभिन्न मनोद्विपक चक्की/क्याप्सुल ३ लाख ३१ हजार ९१७ चक्की बरामद भएको थियो।
त्यस्तै, मोरङमा गाँजा ५ हजार ८२३ किलो, चरेस १० ग्राम, ब्राउन सुगर ३ किलो ९३९ ग्राम र विभिन्न मनोद्विपक चक्की/क्याप्सुल १ लाख ५४ हजार ९६१ चक्की बरामद भएको छ।
झापामा गाँजा ६ किलो छ भने ब्राउनसुगर ३ किलो ९७२ ग्राम ७३६ मिलीग्राम र विभिन्न मनोद्विपक चक्की/क्याप्सुल २ लाख ३९ हजार ४४ चक्की बरामद भयो। उदयपुरबाट १ हजार २२ किलो ३९५ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ।
त्यसैगरी, २०८१/८२ मा २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मिलीग्राम, चेरश ३ ग्राम ५८८ मिलीग्राम, अफिम १५ ग्राम ७७० मिलीग्राम, ब्राउन सुगर ५ किलो ४८९ ग्राम ८९८ मिलीग्राम, विभिन्न मनोद्विपक चक्की/क्याप्सुल ६ लाख १५ हजार ७९ क्याप्सुल बरामद भएको थियो।
सुनसरीमा १२ हजार ३७५ किलो ९२९ ग्राम ८४० मिलीग्राम गाँजा, २ ग्राम २८ मिलीग्राम चरेस, ७२८ ग्राम ५३९ मिलीग्राम ब्राउन सुगर र ४ लाख २८ हजार ६८३ विभिन्न मनोद्विपक चक्की/क्याप्सुल फेला परेको थियो। धनकुटा ४ हजार १९४ किलो ३ सय ग्राम गाँजा, २९ ग्राम ६८८ मिलीग्राम ब्राउन सुगर बरामद भएको थियो। उदयपुरमा १ हजार ८१० किलो ४८४ ग्राम ७७ मिलीग्राम गाँजा, १५ ग्राम ५६१ मिलीग्राम ब्राउन सुगर र २३ हजार २६ क्याप्सुल प्रहरीले बरामद गरेको थियो।
मोरङमा ६ हजार ६५० किलो ४ सय ग्राम गाँजा, १ किलो ७७० ग्राम ८३ मिलीग्राम ब्राउन सुगर, ८ हजार ९२३ क्याप्सुल फेला परेको थियो। झापामा १ हजार ६५१ किलो २८२ ग्राम १८० मिलीग्राम गाँजा, २ किलो ८८२ ग्राम ४६८ मिलीग्राम ब्राउन सुगर र ६३ हजार ५६० विभिन्न क्याप्सुल बरामद भएको थियो।
यस्तै, आव २०८०/८१ मा प्रदेशभरबाट १० हजार ४२० किलो ४९ ग्राम ४६१ मिलीग्राम गाँजा, ३ किलो ८८९ ग्राम ३४९ मिलीग्राम ब्राउन सुगर, ८६ ग्राम १८० मिलीग्राम चरेस र ७८ हजार ३३८ विभिन्न मनोद्विपक चक्की/क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
सुनसरीमा ४ हजार ९६८ किलो ३३२ ग्राम ३१० मिलीग्राम गाँजा, ७०४ ग्राम ६१ मिलीग्राम ब्राउन सुगर र ६१ हजार ५०३ क्याप्सुल बरामद भएको थियो। मोरङमा ३ हजार ५९० किलो ९८५ ग्राम ५१ मिलीग्राम गाँजा, २ किलो १७४ ग्राम १९५ मिलीग्राम ब्राउन सुगर र २ हजार ७२३ क्याप्सुल बरामद भएको थियो भने धनकुटामा १ हजार ५८१ किलो ७६५ ग्राम गाँजा र ४ हजार ३६१ क्याप्सुल बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुन्छ। कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालले लागुऔषध कारोबार र प्रयोगकर्ता १५ देखि २४ वर्षसम्मका अधिकांश भेटिएका छन्।
उनका अनुसार १५ वर्षमुनिका थोरै संख्यामा छन् भने १५ देखि २० वर्ष उमेर समूहका युवा धेरै संख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्न ल्याउने गरेको पाइएको छ। यो उमेर समूहकाहरू नै प्रयोगकर्ता र कारोबारमा संलग्न हुने गरेको पाइएको छ। केहीले भारतको जोगबनी गएर लागुऔषध प्रयोग गर्ने र आफ्ना लागि पनि ल्याउने गरेको भेटिएको डिआइजी खनालले बताए।
२० वर्षमाथिको विभिन्न उमेर समूहका व्यक्तिहरू लागुऔषध ओसारपसार कारोबारमा बढी संलग्न पाइएको बताउँदै डिआइजी खनालले भने, ‘२०–३० वर्ष उमेर समूहकाहरू कारोबारमा बढी संलग्न भएको पाइए पनि ४० वर्षमाथिका थोरै संख्या कारोबारी भेटिएका छन्। ५०/६० वर्षका व्यक्तिहरू पनि प्रयोगकर्ता फेला परेका छन्। केही कारोबार मात्रै गर्ने आफू प्रयोग नगर्ने र केही प्रयोग र कारोबार दुवै गर्ने पनि छन्। प्रायः उनीहरू पारिवारिक तनाव, आर्थिक समस्या, चाँडो पैसा कमाउने र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेको अनुसन्धानबाट खुलेको छ।’
‘लागुऔषध कारोबार र प्रयोगकर्तालाई नियन्त्रण र न्यूनीकरण गर्न प्रदेशभर लागुऔषधविरुद्ध महाअभियान ‘से टु नो ड्रग्स’ भनेर सञ्चालन भइरहेको छ। प्रत्येक जिल्लाअनुसार महाभियानको नाम फरक राखेर सञ्चालन भइरहेको बताउँदै डिआइजी खनालले भने, ‘लागुऔषध प्रयोग र कारोबार नियन्त्रण गर्नका लागि छुट्टै युनिट बनाएर विशेष प्रहरी परिचालन गरेका छौं।
सामाजिक अगुवासँगको समन्वयमा लागुपदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रम, विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीलाई जानकारी गराउनुका साथै बुझाउने गरिएको छ। १२ कक्षासम्मका विद्यार्थीलाई सचेतनामूलक कक्षा लिने गरेका छौं।’
लागुऔषधमा फस्ने ७ देखि १२ कक्षाका बढी हुने भएकाले पनि यसमा विशेष जोड दिँदै आएको हो। विद्यालयका अन्य कक्षाका साना बालबालिकालाई पनि लागुऔषधविरुद्ध सचेतना दिने काम निरन्तर गरिरहेको बताउँदै डिआइजी खनालले भने, ‘विद्यालयमा लागुऔषध मात्र नभई ट्राफिक सचेतना र समाजमा हुनसक्ने आपराधिक गतिविधिका घटनाबारेमा पनि सचेत हुन जरुरी छ। विद्यालय सम्पर्क प्रहरी समिति नै बनाएर ‘विद्यालय प्रहरी सम्पर्क कार्यक्रम’ मार्फत प्रत्येक विद्यालयमा गएर लागुऔषधविरुद्ध मात्रै नभई ‘गुड टच, ब्याड टच’, डिजिटल अपराधलगायत विभिन्न आपराधिक घटनाबारे जानकारी गराउने र उनीहरू सचेत गराउने काम भइरहेको छ।’
प्रहरीहरू सबै विद्यालयमा पुग्न कठिन हुने हुँदा सम्बन्धित विद्यालयका शिक्षकहरूमार्फत पनि लागुऔषधसहित विभिन्न घटनाबारे विद्यार्थीलाई ‘वर्नेस’ गराउने कार्यक्रम सञ्चालनको अन्तिम चरणमा रहेको छ। सामुदायिक सेवा प्रहरी मञ्च, विद्यालय प्रहरी सम्पर्क समिति, युवा सर्कलजस्ता सानोभन्दा सानो मञ्च बनाएर विद्यालय, टोलटोलका साथै घरघरमै पुगेर ‘वर्नेस’ अर्थात् सचेताका सन्देश प्रवाह भइरहेको उनले बताए।
दुर्गम ठाउँका सबै विद्यालयमा प्रहरी पुग्न कठिन हुने भएकाले सुगर र दुर्गम स्थानका सबै विद्यालयका सामाजिक विषयका शिक्षक वा एकजना शिक्षकलाई ल्याएर ‘टिच द टिचर’ अभियान चाँडै सञ्चालन गर्न लागेको बताउँदै डिआइजी खनालले भने, ‘यो अभियानमार्फत शिक्षकहरूलाई लागुऔषधका साथै सबै किसिमका आपराधिक गतिविधि वा घटनाका विषयमा जानकारी गराउने र उहाँहरूले आफ्नो विद्यालयमा गएर विद्यार्थीलाई पढाउँदा अझ प्रभावकारी हुने भएकाले यो अभियान चलाउन लागिएको छ। शिक्षकले विद्यालयमा मात्रै नभई घर–टोलमा पनि सचेतनाका कार्यक्रम गर्न सहज हुनेछ।’
प्रहरीले लागुऔषध ओसारपसार तथा प्रयोगकर्तालाई दैनिक पक्राउ गरी कानुनी कारबाही गरिरहेको छ। प्रदेशको पहाडी जिल्ला भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, ताप्लेजुङमा विशेष गरी गाँजाको व्यावसायिक खेती हुने गरेको पाइएको बताउँदै डिआइजी खनालले भने, ‘उनीहरूले आँखा छलेर खेती गर्ने गरेका छन्। बाहिर एउटा खेती गर्ने र भित्री रूपमा गाँजा खेती गर्ने गरेको पाइएकाले प्रहरी परिचालन गरेर बिरुवा र ठुलो बोट पूर्णरूपमा नष्ट गर्दै आएका छौं। सहजभन्दा पनि भित्री र ‘रिमोट’ ठाउँमा उनीहरूले खेती गर्ने गरेका छन्।
भौगोलिक विकटताले दैनिक रूपमा प्रहरी त्यहाँ पुग्न सक्दैन। त्यसको फाइदा उठाउँदै खेती हुने गरेको छ। एकदुईजनाले सम्भवन छैन, त्यहाँ जान ठुलो संख्या र समय उस्तै लाग्छ। तर, पनि नियमितरूपमा प्रहरीहरू टोली नै बनाएर जाने गरेका छन्।’
पहाडमा उत्पादन गरिएका गाँजा तस्करले भारत लैजाने गरेका छन्। कोसी प्रदेशबाट मात्र नभई उनीहरूले मधेस प्रदेशको बाटोसमेत प्रयोग गर्ने गरेका छन्। यहाँको सीमावर्ती जिल्लाको मुख्य समस्या भनेको ब्राउन सुगर हो। भारतबाट सानोभन्दा सानो पुरियामा लेप लगाएर ब्राउन सुगर आफूलाई र बेच्ने दुवै प्रयोजनका रूपमा ल्याउने गरेको पाइन्छ, डिआइजी खनालले भने।
नेपाल–भारत दुवै देशमा लागुपदार्थ ओसारपसार हुने गरेको छ। कोसी प्रदेशबाट भारततर्फ अत्यधिक गाँजा जाने गरेको पाइएको छ। भारतबाट विभिन्न किसिमका लागुपदार्थ यहाँ भित्रने गरेको छ। लागुपदार्थ कारोबारीले भारतलाई ट्रान्जिट बनाएर नेपाल ल्याउने गरेका छन्।
प्रकाशित: १५ आश्विन २०८३ १०:१६ बिहीबार





-600x400.jpg)