भक्तपुरमा लागूऔषध र बैंकिङ कसुरका घटना उच्च देखिएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको असार महिनाको तथ्याङ्कले यस्तो देखाएको हो।
प्रहरीका अनुसार असार महिनामा सबैभन्दा धेरै लागूऔषध सम्बन्धी १२ वटा घटना भएका छन्। साथै, जबर्जस्ती करणीका ५ वटा, कर्तव्य ज्यानका २ वटा, ज्यान मार्ने उद्योगका १ वटा, जबर्जस्ती करणी उद्योगका २ वटा, बाल यौन दुरुपयोगको १ वटा र डाँका सम्बन्धी १ वटा गरी २४ वटा जघन्य तथा गम्भीर प्रकृतिका अपराध दर्ता भएका छन्।
आर्थिक अपराधतर्फ सबैभन्दा बढी बैंकिङ कसुरका ६६ र ठगीका १४ गरी ८० वटा मुद्दा दर्ता भएका छन्। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत २० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ८ हजार ७५७ ट्रामाडोल क्याप्सुल, २५.५४ ग्राम खैरो हेरोइन, ४७२.७३ ग्राम पोल्यान्ड (लागूऔषध) र ६९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
असार महिनामा आत्महत्याका ८ घटना दर्ता भएका छन्। विष सेवनबाट २ र झुन्डिएर ६ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ।
यातायाततर्फ ४७ वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् भने मृत्यु भने भएको छैन। चालकको सडकमा ध्यान नपुग्नु, तीव्र गति र लापरवाही दुर्घटनाका प्रमुख कारण रहेको प्रहरीको विश्लेषण छ। ट्राफिक कारबाहीबाट ४ हजार ४१२ सवारी साधन कारबाहीमा परेका छन् भने २२ लाख ५९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार आर्थिक वर्ष २०८३/८४ को असार महिनामा १४८ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ५२ वटा मुद्दा फर्छ्योट गरिएको प्रहरीले जनाएको छ। यस अवधिमा ७६ जना प्रतिवादी पक्राउ परेका छन् भने २० जना अझै फरार रहेका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनामा १९० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १२ हजार १० जना सहभागी भएका छन्। ४६ वटा विद्यालयमा ३ हजार ५८४ विद्यार्थीलाई लागूऔषध, ट्राफिक सुरक्षा र अपराध न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०८३ १९:३६ बिहीबार



-600x400.jpg)

