२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

खडेरीले बढायो प्रदूषण, मौसमविद् भन्छन् : पानी परेपछि घट्छ

लामो समयदेखि पानी पर्न नसक्दा काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषणको मात्रा स्वास्थ्यको लागि खतरा तहमा पुगेको छ। यद्यपि यो प्रदूषण तत्काल कम हुने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन्।

'यो प्रदूषण कम हुन तीव्र गतिको हावाहुरी चल्नुपर्ने वा पानी पर्नुपर्ने हुन्छ। तर बिहीबारसम्मको लागि त्यस्तो देखिएको छैन।', जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले नागरिकसँग भने, 'बिहीबार बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका थोरै पानी पर्ने सम्भावना देखिएको छ। पानी परे यो प्रदूषण केही मात्रामा घट्नेछ।'

प्रदूषणले गर्दा गत बिहीबार यता मौसम पूर्ण रूपमा खुल्न सकेको छैन।  

'लामो समय भयो खडेरी भयो। अहिले आगलागीका घटना पनि बढेका छन्। यसले पनि प्रदूषण बढाइरहेको छ।', उनले भने।  

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन सबैलाई आग्रह गरेका छन्।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घ रोगी र गर्भवतीलाई वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कन समेत अनुरोध गरेका छन्। वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ। 

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ। पुराना गाडीले वायु प्रदूषण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलो धुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ। 

प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन।

वातावरण विभागका अनुसार देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ। विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठुला सहरमा प्रदूषणका मसिना कणहरू बढेको जनाइएको छ।

विभागका अनुसार हाल इलाम, सुर्खेत, अछाम, दाङको देउखुरी, काठमाडौंको शंखपार्क र रत्नपार्क, ललितपुरको खुमलटार, कीर्तिपुर, भक्तपुर लगायतका क्षेत्रमा प्रदूषणको मात्रा स्वास्थ्यको लागि हानिकारक अवस्थामा पुगेको छ। 

प्रकाशित: २६ फाल्गुन २०८२ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App