२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मैवाखोलाले अर्थ तथा सामाजिक लेखा समिति बनाउने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको अर्थ तथा सामाजिक लेखा समिति बनाउने गरी प्रकृया अघि बढाएको छ।  

पालिकाले वित्तीय व्यवस्थापनमा मितव्ययिता र पारदर्शीता कायम राख्न तथा पालिका सभाको नियमित कार्यमा सहयोग पुर्याउने उद्देश्यले अर्थ तथा सामाजिक लेखा समिति गठन गर्ने गरी कार्यविधि तयार गरेका हो।  

कार्यविधिअनुसार पालिकाको काम कारवाही तथा आर्थिक कारोवारमा पारदर्शीता, जवाफदेहिता र विधिको पालनालाई प्रर्वद्धन गरी अनुशासित अभिवृद्धिमा सघाउन अर्थ तथा सामाजिक लेखा समिति गठन गर्न लागिएको हो। गाउँसभाका कुनै सदस्यको संयोजकत्वमा गठन हुने यस्तो समिति कम्तिमा तीन र बढीमा ५ सदस्यीय हुनेछ।  

समितिले पालिकाको आर्थिक कारोवारको आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमा भए नभएको हेर्ने, आन्तरिक तथा अन्तिम लेखा परीक्षणका क्रममा औंल्याईएका व्यहोरा तथा बेरुजुको लगत अभिलेख व्यवस्थित रुपमा राख्न तथा विगतमा औंल्याईएका बेरुजु फस्र्योटको अद्यावधिक प्रगति तयार गर्न कार्यपालिका तथा सम्वद्ध अधिकारीलाई जिम्मेवार बनाई सोको अनुमगन गर्ने कार्य समेत गर्नेछ ।  

यस्तै समितिको कार्यक्षेत्र भित्रका उजुरी, गुनासो र सञ्चारमाध्यममा आएका बिषय, सरोकारवालाको चासो एवम् समितिले आवश्यक ठानेका बिषयमा जाँचबुझ गरी आवश्यक सुझाव दिने, गाउँपालिकाको पूर्ण वा आशिंक ऋण वा अनुदान वा साझेदारीमा सञ्चालित संस्था र कार्यक्रमको वित्तीय भौतिक प्रगतिको जाँच गरी आवश्यक निर्देशन दिने कार्यविधिमा उल्लेख गरिएको छ।  

यस्तै, पालिका भित्रका पुँजीगत खर्चबाट बनेका विकास निर्माणका पूर्वाधारको अभिलेख, मर्मतसम्भार तथा संरक्षण र उपयोगमा ध्यान दिने, पालिकाका सम्पत्तिको उचित संरक्षण, प्रयोग तथा लिलाम बिक्री गर्न निर्देशन दिने र आफुले गरेका निर्णय, दिएका सुझाव तथा निर्देशन कार्यान्वयन अवस्थाको सोको व्यहोरा प्रतिवेदनमा समावेश गर्ने जिम्मेवारी अर्थ तथा सामाजिक लेखा समितिको हुने कार्यविधिमा उल्लेख गरिएको छ। 

प्रकाशित: २६ फाल्गुन २०८२ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App