इलामको माइजोगमाई–५, सोयाङका युवक लक्ष्मण खत्री २०७७ सालमा मलेसियाबाट कोरना महामारीका कारण गाउँ फर्किए। रोजगारी छाडेर आउँदा आम्दानीको मेलो हरायो। अब के व्यवसायी गर्ने भन्ने योजना बनाउन थाले।
आफ्नो निजी घरबारीमा परम्परागत रूपमा धान–मकै त खेती भइरहेकै थियो, उनलाई विदेशतिर खाएको फल (ड्रागन)को स्वादले तान्यो। आफू पनि त्यही फलको खेती गर्ने सोच बनाए। बुबा–आमाले धान–मकै खेतीपाती गरिरहेको खेतबारीमा २०७८ सालमा ड्रागन खेती गरे।
एक वर्षपछि एक दाना फल्यो, त्यसपछि उनलाई थाहा भयो कि, यो ठाउँमा ड्रागन खेती राम्रो हुन्छ। उनले खेती बिस्तार गरे। नभन्दै, २०८० सालदेखि राम्रो उत्पादन हुन थाल्यो।
अहिले उनी वर्षको ६ सय किलोसम्म ड्रागन बेचिरहेका छन्। ‘घरबाटै प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बेच्दैछु,’ उनले सुनाए, ‘माग धेरै छ, धान्न गार्हाे भइरहेको छ।’
बिरुवा फस्टाउँदै गर्दा उनको उत्पादन समेत हरेक वर्ष बढ्दो छ। बेच्नलाई पनि कतै धाउनु नपरेको उनी सुनाउँछन्। ‘सुरुमा बजारकै व्यापारीलाई दिएँ, पेमेन्ट ढिलो गरिदिए, त्यसपछि सामाजिक सञ्जालमा प्रचार गरें,’ उनले भने, ‘अहिले घरमै अर्डर आउँछ, इलाम र झापाका विभिन्न ठाउँमा पठाइरहेको छु।’
ड्रागन खेतीका लागि कृषि ज्ञान केन्द्रले समेत उनलाई अनुदान दिएको थियो। त्यसैको सहयोगले अहिले क्रमशः खेती फराकिलो बनाइरहेको उनी सुनाउँछन्।
५० बोटबाट सुरु भएको उनको बगानमा अहिले १ सय ८० बोट ड्रागन छ। ‘भित्र रातो हुने र सेतो हुने २ प्रकारको ड्रागन यहाँ खेती भइरहेको छ,’ उनले भने, ‘रातो हुने जातको ड्रागन बढी मीठो हुने भएकाले यसको माग धेरै छ।’
वैदेशिक रोजगारीमा रहँदा कोरोना संक्रमणले विश्व आक्रान्त बनेको थियो। त्यतिबेला उनी स्वदेशमै रोजगारी गर्ने गरी घर फर्किएर यो खेती थालेका हुन्।
‘सुरुमा त धान खेती मासेर ड्रागन लगाउँदा धेरैले अनौठो माने,’ उनले सम्झिए, ‘तर, यसको आम्दानी राम्रो हुन थालेपछि अरूले पनि बुझेका छन्, यसको उत्पादन र आम्दानी बर्सेनि बढ्दो क्रममा छ।’
प्रकाशित: १० श्रावण २०८३ १४:३६ आइतबार





