नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराएका छन्।
उनले भनेका छन्, ‘भाइबहिनीहरू, तपाईंहरूले देखाएको अदम्य साहसका कारण असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’
उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिऔं। संयम बनौं, सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।’
प्रकाशित: २४ भाद्र २०८२ १९:२१ मंगलबार





