१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

धनगढीमा डा. गोविन्द केसीको २४ औं सत्याग्रह सुरु

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा अनसन बसेका छन्।

स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनविरुद्ध तथा सुशासन कायम गराउने उद्देश्यले उनले कृष्ण मन्दिर परिसरमा आफ्नो २४ औं सत्याग्रह सुरु गरेका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि वर्तमान सरकारले यसको कार्यान्वयनका लागि कुनै तत्परता नदेखाएको डा. केसीको भनाइ छ।

आफ्नो यस पटकको सत्याग्रहका लागि उनले मुख्य गरी ५ बुँदे माग अघि सारेका छन्।

स्थापित नियम र मूल्य-मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनुपर्ने उनको पहिलो बुँदाको माग रहेको छ।

यसैगरी, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने, ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरिनुपर्ने उनको माग छ।

यसैगरी, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने माग उनले राखेका छन्।

साथै, २०८२ भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

आफूले अघि सारेका मागहरूप्रति २०८३ साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको डा. केसीले बताएका छन्। ‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुनः सत्याग्रह सुरु गर्दै छु,’ उनले भनेका छन्, ‘यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ।’

यसैबीच, सुदूरपश्चिमबासीको सपनाको रूपमा रहेको सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयअन्तर्गत मेडिकल शिक्षा र तीन सय शय्याको अस्पताल सञ्चालन सुरु हुन लाग्दा डा. केसीको अनसनले अवरोध पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन्।

डा. केसीले भने मेडिकल पढाइ सुरु गर्ने र अस्पताल सञ्चालन गर्ने विषयमा सरकारको कुनै तयारी नै नरहेको बताएका छन्। उनले विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिको विषयमा मात्र आफूले विरोध गरेको स्पष्ट पारेका छन्।

प्रकाशित: ७ श्रावण २०८३ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App