बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।
खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले बताए।
उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ। अन्तर्राष्ट्रिय उडानहरू हुँदै छन्। अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ।”
अविरल वर्षाले आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्। काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १०:३५ शनिबार





