राज्यशक्तिको चरम दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा तानिएका व्यवसायी दीपक भट्ट र उनको लगानी रहेको हिमालयन रि–इन्स्योरेन्स लिमिटेडबाट सरकारले कागजात बरामद गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी भट्ट, उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारी कागजात बरामद गरेको हो।
विभागको टोलीले मंगलबार बिहानदेखि साँझ अबेरसम्म निवास र कार्यालयमा खानतलासी गरी विभिन्न कागाजात नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गरिरहेको छ।
विभाग स्रोतका अनुसार ललितपुरको सानेपास्थित भट्टको निवास किरण भवन र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ।
विभागको टोलीले भट्टको निवासबाट करिब १० वटा विलासी सवारीसाधनहरू पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका गाडीहरूमा रेन्जरोभर, टोयोटा ल्यान्डक्रुजर, बिएमडब्लु, टेस्ला, प्रोटन, बिवाइडीलगायत छन्। साथै टोलीले मोबाइल फोन, कम्प्युटर, महत्त्वपूर्ण कागजात र सिसिटीभी सर्भरसमेत नियन्त्रणमा लिएको छ।
विभागले भट्टको व्यावसायिक कम्पनी हिमालय रि इन्स्योरेन्सबाट पनि कागाजात लिएको छ। यसैकारण उक्त कम्पनीको सेयर कारोबारसमेत प्रभावित भएको छ। २०७९ जेठ तेस्रो साता नयाँ पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सले लाइसेन्स पाएपछि व्यवसायी भट्टविरुद्ध उजुरी परेको थियो। हिमालयन रि–इन्स्योरेन्समा संस्थापक सेयरधनीहरू ४४ वटा निजी फर्म तथा कम्पनीसहित एक सय ६ जनाको लगानी छ।
भट्टका बारेमा अध्ययन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धानका प्रतिनिधि सम्मिलित संयुक्त टोली बनाइएको थियो। यसअघि भट्टले राज्यशक्तिलाई प्रभावमा पारी अनुसन्धानलाई निस्तेज पारेको दाबी गरिएको छ। यसअघि छानबिनमा बढी भूमिका निर्वाह गर्नुपर्ने सिआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रभावकारी हुन नसक्दा अनुसन्धान छायामा परेको बताइएको छ। अहिले फेरि उनीमाथिको अनुसन्धान अघि बढाइएको छ।
विभागको टोलीले थप अनुसन्धानका लागि अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट पनि ल्यापटप र सिसिटिभी फुटेज बरामद गरेको छ। भट्टका वित्तीय व्यवस्थापकहरुलाई पनि विभागले निगरानीमा राखेको छ। विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ।
विभागका एक उच्च अधिकारीका अनुसार नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ। जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभाग स्रोतले जनाएको छ। विभागले भट्टको घरमा छापा मारेको विषयमा केही बताउन चाहेन। विभागका महानिर्देशक गजेन्द्र ठाकुर पनि मंगलबार बिदाको दिन भएको भन्दै जानकारी दिनबाट पन्छिए। ‘मंगलबार बिदाको दिन हो’, उनले भने।
विभागले भट्ट र अग्रवाललाई दुई सातादेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बिमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ।
लामो समयदेखि राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप खेपेका भट्ट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको हतियार खरिदमा पनि संलग्न रहँदै आएका छन्।
२०७९ साल असारमा अर्थ मन्त्रालयले नेपाल प्रहरीको हतियार खरिद गर्न ८४ करोड रुपैयाँ रकमान्तर गरेको थियो। नेपाल प्रहरीका हतियार खरिदका लागि भट्टले नै लबिइङ गरेको स्रोतको दाबी छ। प्रहरीलाई इटालीको बेर्रेटा कम्पनीका एक हजार एक सय ५० थान फोल्डिङ सर्ट गन, एक हजार दुई सय थान पेस्तोल, १० लाख प्लास्टिकका गोली र २५ हजार थान सेल (अश्रुग्याँस) खरिद गर्न तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ८४ करोड रुपैयाँ रकमान्तर गरेका थिए। यससम्बन्धी समाचार पहिलो पटक नागरिक दैनिकमा प्रकाशित भएको थियो। त्यसपछि अन्य सञ्चारमाध्यमहरूमा पनि यससम्बन्धी समाचार निरन्तर आएपछि हतियार खरिद कार्य रोकिएको थियो।
भट्ट त्यसभन्दा अघि पनि नेपाल प्रहरीको हतियार खरिदमा संलग्न थिए। २०७१ सालमा प्रहरी मुख्यालय नक्सालमा तत्कालीन एआइजी राजेन्द्रसिंह भण्डारी अन्वेषण योजना प्रमुख हुँदा भट्टले एक अर्ब ५० करोड रुपैयाँका हतियार खरिदका लागि डिल गरेको अडियो रिपोर्ट बाहिर आएको थियो। त्यसबेला सरकारको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गरेका थिए भने नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम गृहमन्त्री थिए।
नेपाल प्रहरीका लागि हतियार खरिद गर्न भन्दै आर्थिक वर्षको अन्तिममा एक अर्ब ५० करोड रुपैयाँ छुट्टाइएको थियो। त्यसबेला पनि इटालीको बेर्रेटा कम्पनीबाटै नेपाल प्रहरीका लागि हतियार किन्न रकम व्यवस्था गरिएको थियो। त्यसयता भट्ट सरकारी र व्यापारिक वृत्तमा निरन्तर चर्चामा छन्। त्यही बेला नेपाली सेनाले रुसबाट दुई वटा हेलिकोप्टर किन्दा भट्ट रुसी कम्पनीका स्थानीय प्रतिनिधि थिए। त्यतिबेला पनि हेलिकोप्टर किन्दा विवाद भएको थियो।
पछिल्लो पटक हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिच भएको करोडौं रुपैयाँ कारोबारको स्रोत खुलेको छैन। जगदम्बा स्टिल्स र हिमालयन रि–इन्स्योरेन्ससँग भट्टको कारोबार व्यवसायी कामबापतको भनेर उजुरी परेको थियो। हिमालयन रि–इन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको संस्था हो। यो कम्पनी खुल्दा नै ठुलो नीतिगत भ्रष्टाचार भएको दाबी गरिएको छ। जगदम्बा स्टिल्सको खाताबाट भट्टले आर्थिक वर्ष २०७७/७८ मा ४८ करोड रुपैयाँ लिए पनि सो कम्पनीको लेखा परीक्षणमा त्यति ठुलो रकम लुकाइएको विषयमा पनि थप अनुसन्धान भइरहेको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओभरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार भएको देखिएको छ। ५० लाख रुपैयाँ ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट २०७८ असार १४ देखि २३ गतेको बिचमा ३० करोड १५ लाख ८७ हजार रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार एक सय १० रुपैयाँ भुक्तानी भएको थियो।
त्यस्तै २०७८ असार १७ देखि साउन ५ गतेको बिचमा इन्फिनिटी होल्डिङ्सको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र त्यो खातबाट ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको थियो। जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ। त्यस्तै उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो। देखिने कुनै व्यवसाय नभएका भट्टले यसरी केही दिनमै बैंक खाताबाटै करोडौंको कारोबार गरेको भए पनि त्यसमा थप अनुसन्धान भएको थिएन।
प्रकाशित: ३ वैशाख २०८३ १०:०८ बिहीबार





