वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर तहका आवासीय चिकित्सकहरूमाथि अन्याय र श्रम शोषण गरेको भन्दै नेपाल चिकित्सक संघले कलेजलाई कारबाही गर्न प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहसँग माग गरेको छ।
चिकित्सक संघले सोमबार प्रधानमन्त्री शाहलाई औपचारिक पत्र लेख्दै अस्पतालमा भयरहित शैक्षिक वातावरण निर्माण गर्न र कलेज प्रशासनले माग पूरा नगरे चिकित्सा शिक्षा आयोगमार्फत अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा हस्ताक्षरित संयुक्त पत्रमा अस्पतालमा अहोरात्र खटिने स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकहरूमाथि कलेज प्रशासनले अनावश्यक मुद्दा लगाएर मानसिक तनाव दिएको उल्लेख छ।
यस्तै, सार्वजनिक बिदाका दिनसमेत बिदा नदिइएको, आठौं तह सरहको सरकारी निर्वाह भत्ता नदिएको र प्रचलित कानुन तथा श्रम ऐनविपरीत चिकित्सकहरूलाई निष्कासन गर्न खोजिएको भन्दै संघले आपत्ति जनाएको छ।
गत भदौ ३१ गतेदेखि ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले कलेज सञ्चालकबाट सुनुवाइ नभएपछि असोज ६ गते काठमाडौं पुगेर उच्चस्तरीय भेटवार्ता गरेका थिए।
उनीहरूले शिक्षामन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहन राज शर्मा, चिकित्सा शिक्षा आयोगका सचिव तथा चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाललाई भेटेर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।
मन्त्री, डीन र सचिवबाट एक-दुई दिनभित्रै जायज माग सम्बोधन गराउने आश्वासन पाएर वीरगन्ज फर्किएका प्रथम वर्षका ५३ जना आवासीय चिकित्सकहरूलाई कलेज प्रशासनले निकालिएको भन्दै अस्पताल प्रवेशमा पूर्ण रोक लगाएको छ।
प्राध्यापक डा. जैनुद्दीन अन्सारी अध्यक्ष रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूको निरन्तर श्रम शोषण गर्दै आएको आरोप छ।
कलेजको दाबी : वातावरण बिग्रिएपछि निर्णय लिन बाध्य भयौँ
आवासीय चिकित्सकहरूलाई अस्पताल प्रवेशमा रोक लगाइएको विषयमा सम्पर्क गर्दा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसैन अन्सारीले दुई पृष्ठ लामो प्रेस विज्ञप्ति उपलब्ध गराएका छन्।
उपलब्ध गराइएको विज्ञप्तिमा स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकहरूलाई काममा फर्काउन कलेज प्रशासनले पटक-पटक संवाद र समस्या समाधानको प्रयास गरेको उल्लेख छ।
तर, चिकित्सकहरूको आन्दोलनका कारण शिक्षण सिकाइको विश्वास र समग्र संस्थागत वातावरण बिग्रिँदै गएकाले बाध्य भएर कलेज प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रबन्ध निर्देशक अन्सारीले दाबी गरेका छन्।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल यसअघि पनि चर्को शुल्क विवाद, चिकित्सकहरूको श्रम शोषण तथा नियमनकारी निकायहरूको अनुगमनका कारण पटक-पटक विवाद र चर्चामा आउँदै आएको छ।

प्रकाशित: १२ आश्विन २०८३ २१:४४ सोमबार





