बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल सरकारले खोजी, उद्धार तथा राहत र पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन तथा प्रयास परिचालन गरेको छ।
साथै सरकारले जारी खोजी, उद्धार तथा राहत प्रयासका लागि आवश्यक सबै सामग्री र स्रोतसाधनको मूल्याङ्कन, अनुरोध, प्राप्ति तथा परिचालन गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ।
यसै क्रममा विभिन्न मुलुकबाट नेपाललाई उद्धार तथा राहत सहयोग आउनेक्रम पनि बढेको छ।
भोटेकोशी बाढीसम्बन्धी परराष्ट्र मन्त्रालयले आज यहाँ आयोजना गरेको प्रेस ब्रिफिङमा हाल भारतबाट ११ जना र चीनबाट नौ जना सम्मिलित सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली नेपाली अधिकारीसँगको समन्वयमा क्रमशः मेलुङ (चिलिमे) र स्याफ्रुबेसी, तथा माथिल्लो त्रिशूली थ्रि ए क्षेत्रमा परिचालित रहेको जानकारी दिइयो।
त्यस्तै कोरिया गणतन्त्रबाट पनि एउटा टोली परिचालन गरिएको छ। यसैगरी, शव व्यवस्थापनका लागि एयरटाइट ब्याग पनि प्राप्त गरिसकेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले जानकारी दिए।
उनले भने, ‘थप सामग्री पनि उपलब्ध हुँदैछ। डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञको टोली २९ अगस्टदेखि यहाँ रहेका छन्। सिङ्गापुरबाट ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ परिचालन गर्नका लागि समन्वय भइरहेको छ।’
प्रवक्ता क्षेत्रीका अनुसार भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, कोरिया गणतन्त्र तथा अन्य देश र साझेदारबाट यसअघि नै उद्धार सहयोग प्राप्त भइसकेको छ।
यसअन्तर्गत पुलका एकाइ, फ्रिजर, जेनेरेटर सेट, सौर्य बत्ती, डीएनए परीक्षण किट, पुलका एकाइ, आपत्कालीन राहत उपकरणहरूका साथै पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य प्याकेट, औषधिलगायतका सामग्रीहरू रहेका मन्त्रालयले जनाएको छ।
‘हामीले संयुक्त राज्य अमेरिकाबाट फ्रिजर, डीएनए परीक्षण किट तथा लाइडरजस्ता आवश्यक गैर–खाद्य सामग्री र सेवाका लागि थप अनुरोध गरेका छौँ। बेलीब्रिज (जसमध्ये केही प्राप्त भइसकेका छन्) तथा उच्च क्षमताका ड्रोन (चीन र सिङ्गापुरबाट)जस्ता विशेष सामग्री तथा सेवाका लागि पनि अनुरोध गरिएको छ।
'यस्ता विशेष सामग्री जापान र कोरिया गणतन्त्रबाट पनि छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ’, प्रवक्ता क्षेत्रीले भने।
विश्वभरका मित्र तथा साझेदारबाट आर्थिक सहयोगका प्रतिबद्धता पनि प्राप्त भएका छन्। बाढीबाट क्षति व्यापक भएको र हाल प्रारम्भिक आवश्यकता मूल्याङ्कन भइरहेको बताउँदै प्रवक्ता लोकबहादुर क्षेत्री पुनःस्थापना तथा पुनःनिर्माणका लागि वास्तविक तथ्याङ्क प्राप्त गर्न विपद्पछिको आवश्यकता मूल्याङ्कन सञ्चालन गरिने उल्लेख गरे।
बाढीबाट घरहरू, सडक सञ्जाल, पुल तथा जलविद्युत् सुविधाजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ। प्रवक्ता क्षेत्रीले भने, ‘हामी पुनःस्थापना तथा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने अपेक्षा गर्दछौँ। मूल्याङ्कन अगाडि बढ्दै जाँदा आवश्यकताका विशिष्ट विवरण पछि जानकारी गराइनेछ।’
देशभित्र विभिन्न तहमा तथा छिमेकी र अन्तरराष्ट्रिय समुदायसँग प्रभावकारी समन्वय भइरहेको उनको भनाइ थियो।
प्रवक्ता क्षेत्रीले हालसम्म प्रभावित क्षेत्रबाट ९०३ शव फेला परेको र करिब चार हजार २०० सय जना अझै सम्पर्कविहीन रहेका जानकारी दिए।
प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ, त्यसमध्ये ३२३ भन्दाबढी विदेशी नागरिक रहेका उनको भनाइ थियो। उपलब्ध तथ्याङ्कअनुसार विभिन्न ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन्।
यस कठिन घडीमा सरकार हाम्रा छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग निरन्तर नजिकको सम्पर्क र समन्वयमा रहेको बताउँदै प्रवक्ता क्षेत्रीले धेरै विदेशी नागरिक अझै बेपत्ता रहेको र समन्वयका लागि मन्त्रालयमा एक आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको बताए।
प्रकाशित: १५ भाद्र २०८३ १७:४३ सोमबार


-600x400.jpg)


