कैलालीका तीन पालिकामा रहेका ६८ जना अपांगता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ। अपांगता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्न सहयोग सामग्री वितरण गरिएको जनाइएको छ।
अपांगता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको हो। जसमा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ प्रकारका सहयोग सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकामा २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको हो।
कुल रु १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचेयर, कर्सी, ट्वाइलेट चेयर, कृत्रिम खुट्टा, कृत्रिम औंलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अरुण चौधरीले जानकारी दिए।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो।
जानकी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न प्रकारका अपांगता भएका व्यक्तिको पहिचान गर्न र कार्ड वितरणका लागि टीकापुर अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर महिनाको एक पटक परिचयपत्रको लागि प्रक्रिया सुरु गर्ने पालिका अध्यक्ष गणेश चौधरीले बताए। उनले भने, ‘मानिसको जीवन सहज कसरी बनाउने कुरा हो। विभिन्न अपांगता भएकालाई सहज जीवनयापन जिउन सक्दो सहयोग गर्न हामी प्रतिबद्ध छौं।’
सहयोग सामग्री पाएपछि अपांगता भएका बालबालिका र उनको अभिभावक समेत खुसी भएका छन्। जानकी–७ का अपांगता भएका रामु थारू आफू कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न सहज भएको बताए। उनले चार वर्ष अघि घर निर्माणमा मजदुर काम गर्ने क्रममा पर्खाल भत्किँदा खुट्टा गुमाएका थिए। रासस
प्रकाशित: १० आश्विन २०८२ १०:०६ शुक्रबार





