जिल्ला प्रशासन कार्यालय उदयपुरले नेपाली नागरिक हुने व्यक्तिलाई नागरिकता, राष्ट्र र राष्ट्रियतासम्बन्धी विभिन्न ७ बुँदे‘नागरिक प्रतिबद्धता स्वघोषणा पत्र’ लागू गरेको छ । नेपाली नागरिकता प्रमाणपत्र लिने नागरिकलाई प्रशासनले उक्त स्वघोषणा लागु गरेको हो।
प्रशासनले शुक्रबारदेखि यो कार्यक्रम लागू गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले नागरिकता लिएका लाभग्राहीलाई नागरिकता शाखा अगाडि राखिएको प्रिन्टमा उल्लेखित ७ बुँदे नागरिक प्रतिबद्धता पढ्न लगाएर नेपाली नागरिकता प्रदान गरी कार्यक्रमको सुरुवात गरेका छन् । जस अनुसार ७ जना नागरिकले वडापत्रमा उल्लेखित स्वघोषणापत्र पढेर सिडिओ लुइँटेलबाट नागरिकता लिए ।
स्वघोषण पत्रमा नेपाली नागरिकता प्राप्त गर्ने नागरिकको कर्तव्य स्मरण गराइएको छ । सिडिओ लुइँटेलले नागरिकता प्राप्त गर्ने नेपालीले देश र जनताप्रतिको कर्तव्य बोध गराउन तथा असल नागरिक बन्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले स्वघोषणा पत्र तयार गरेर त्यसप्रति प्रतिबद्धता जनाउन लगाइएको बताए । उनले यस्तो स्वघोषणापत्रको जिल्ला प्रशासनसँगै इलाका प्रशासन कार्यालयमा पनि राखिने बताए ।
स्वघोषणापत्रको पहिलो बुँदामा ‘राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डको रक्षा गर्नेछु’भन्ने उल्लेख छ । त्यसैगरी दोस्रो बुँदामा ‘नेपालको संविधान र प्रचलित कानुनको पूर्णरुपमा पालना गर्नेछु’ भनिएको छ भने तेस्रो बुँदामा‘सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नेछु’ भनिएको छ ।
चौथो बुँदाले नागरिकता प्रमाणपत्रको दुरुपयोग नगर्न सचेत गराएको छ भने अर्को बुँदामा दोहोरो नागरिकता लिन नागरिकता च्यात्ने, केरमेट नगर्ने र संरक्षण गर्ने स्वघोषणा गराएको छ । छैटौँ बुँदामा नागरिकता अनुसार पहिचान र विवरण कायम गर्ने तथा अन्तिम बुँदामा ‘झुटो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा संलग्न हुने छैन’भनिएको छ ।
प्रकाशित: २ श्रावण २०८२ १७:४२ शुक्रबार





