भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना हुन लागेको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ।
भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले जानकारी दिए।
दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबले ‘द गोल्डन ग्राण्डमा’अन्तर्गत सो कार्यक्रम आयोजना गर्न लागेको थियो। देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक प्रभावित भएकाले राहत तथा उद्धारमा लाग्ने निष्कर्षसहित तत्कालका लागि सबै कार्यक्रम स्थगित गरिएको दैनिक नेपालगन्जका सम्पादक तथा प्रकाशक झलक गैरेले जानकारी दिए।
'उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले गरिरहेका प्रयासमा नागरिक, निजी क्षेत्र तथा सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अवस्था आएकाले हामी यो निर्याणमा पुगेका हौँ', उनले भने।
ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘द गोल्डन ग्राण्डमा’ अभियान अघि बढाइएको हो। यसअन्तर्गत ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’जस्ता कार्यक्रम हुँदै आएका छन्।
हाललाई ‘दौडिन्छिन् हजुरआमा’ कायक्रम स्थगित भए पनि ‘द गोल्डेन ग्राण्डमा’ले अघि सारेको सामाजिक अभियानको मूल उद्देश्यमा भने आफूहरु अग्रसर रहने आयोजकको भनाइ छ। विपद्का समयमा प्रभावित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै मानवीय दायित्व निर्वाह गर्न सबैलाई अपिल गरिएको छ।
प्रकाशित: १६ भाद्र २०८३ ०६:२३ मंगलबार





-600x400.jpg)