२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार-२०८२’ बाट सम्मान गर्ने भएको छ।

देश विकासका वन, वातावरण, पर्यावरण, जैविक विविधता, प्रकृति र संस्कृतिकाे संरक्षण, स्थानीय सामग्रीकाे उपयाेग जस्ता विविध क्षेत्रमा अगुवाइ गरेकाेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई सम्मान गर्न लागिएको हो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको ४९ औं प्राज्ञसभाले उत्कृष्ट स्थानीय तहको रूपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई छनाेट गरेको नगर प्रमुख भट्टराईले पत्रकार सम्मलेन मार्फत जानकारी गराए। उक्त सम्मान मंसिर २० गते प्रदान गरिने भएकाे छ।

नाष्टले कामकाे मूल्यांकन गरेकाेमा खुसी व्यक्त गर्दै नगर प्रमुख भट्टराईले  नगरपालिकाकाे अभियानमा सहयाेग पुर्‍याउने सबैप्रति एकमुस्ट कृतज्ञता ज्ञापन गरेका छन्। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको ४९ औं प्राज्ञसभा प्राज्ञसभाले विज्ञान तथा प्रविधिका १३ विधामा २० वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरूलाई पुरस्कार गर्ने निर्णय गरेकाे छ।

अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्यूट अफ एलाइड साइन्सेस्का डा. वसन्त पन्तलाई २ लाख राशिको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, काठमाडौं विश्वविद्यालयका प्राडा सुबोध शर्मालाई २ लाख राशिको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, वातावरण केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका डा. रमेशराज पन्तलाई १ लाख राशिको विज्ञान पुरस्कार र काठमाडौं विश्वविद्यालयका प्राडा सुदन झालाई १ लाख राशिको प्रविधि पुरस्कार प्रदान गरिने भएको छ।

त्यस्तै अन्नपूर्ण अनुसन्धान केन्द्रकी डा. सुष्मा पाण्डे, पक्लिहवा कृषि क्याम्पसका डा. मुक्तिराम पौडेल, काठमाडौं रिसर्च इन्स्टिच्यूट फर बायोलोजिकल साइन्सेसका डा. सागर अर्याल, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डा.निरज दाहाल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विपिन्द्र पाण्डेलाई ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार प्रदान गरिने भएको छ।

यस्तै ७५ हजार राशिको महिला विज्ञान तथा प्रविधि पुरस्कार वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयकी डा. सोनी बराललाई प्रदान गर्ने निर्णय भएको छ।

नेपाल गणित समाज र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई ५० हजार राशिको प्रज्ञाप्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

५० हजार राशिको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार सञ्चारकर्मी कमला तामाङ (पाखिन) लाई प्रदान गर्ने निर्णय भएको छ।

जैविक प्रविधि केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयकी सुजा महर्जन र सेन्ट जेभियस कलेजका हरि अछामीलाई जनही २५ हजार राशिको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

बैतडी (नार्कका पूर्व वरिष्ठ वैज्ञानिक) का डा. मदनराज भट्टलाई १ लाख राशिको काजी इन्द्र कटुवाल कृषि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

२५ हजार राशिको मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार सौर्य विद्युत उत्पादक संघलाई प्रदान गर्ने निर्णय भएको छ।

हुलास स्टिल इण्डष्ट्रिजका डा. छवि मिश्रा र नेपाल विद्युत प्राधिकरणका विष्णुप्रसाद देवकोटालाई १ लाख राशिको हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App