काठमाडौं महानगरपालिका भित्रका २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ।
भूउपयोग परिषदका अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले डिजिटल नक्साङ्कनको निर्णय गरेको हो। भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिने छन्।
आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था रहेको छ। बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले प्रस्तुतीकरण गर्दै हालसम्म महानगरपालिकाले घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम भइसकेको बताए।
१२ हजार ८११ वटा सडकको नक्साङ्कन गरी दुई हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ।
त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ। २५ हजार १९ वटा भवनको प्रमाणीकरण गरिएको छ। विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआइए अभिलेख निर्माण गरिसकिएको छ।
प्रकाशित: १ आश्विन २०८३ १०:५३ बिहीबार





