११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
समाज

सीमा क्षेत्रका समस्या सुन्न बङ्कुल पुगे डिआइजी भट्ट, दैनिक उपभोग्य वस्तु ल्याउन सहज बनाउन स्थानीयको माग

नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणले भोग्दै आएका समस्या, सीमा वारपार हुने गतिविधि तथा चोरी–तस्करी नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख डिआइजी विष्णुप्रसाद भट्टले रौतहटका स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेका छन्।

रौतहटको बङ्कुलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका तीनवटा स्थानीय तहका नगरप्रमुख, उद्योग वाणिज्य तथा व्यापार संघका प्रतिनिधि, नागरिक समाजका अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।

अन्तरक्रियामा सहभागी स्थानीयले नेपाल–भारत सीमा हुँदै दैनिक उपभोग्य सामग्री ल्याउँदा सर्वसाधारणले अनावश्यक कठिनाइ भोग्नुपरेको भन्दै त्यसलाई सहज बनाउन डिआइजी भट्टसँग आग्रह गरेका छन्।

विशेषगरी अहिले लगनगाँठो (विवाह) को मौसम सुरु भएको तथा शुभकार्य, श्राद्धजस्ता धार्मिक र सामाजिक कार्यका लागि आवश्यक सामग्री भारतबाट ल्याउनुपर्ने अवस्था रहेको भन्दै सहभागीहरूले सर्वसाधारणलाई सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

सीमामा हुने अवैध कारोबार नियन्त्रण गर्नु आवश्यक भए पनि दैनिक जीवनयापनका लागि आवश्यक सामग्री ल्याउने सर्वसाधारणलाई तस्करको दृष्टिले हेर्ने र अनावश्यक दुःख दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने स्थानीयको भनाइ थियो।

कार्यक्रममा बङ्कुलस्थित पुरानो भन्सार कार्यालय पुनःस्थापनाका लागि पहल गर्नुपर्ने विषयसमेत उठाइएको थियो। स्थानीयले पुरानो भन्सार सञ्चालनमा आए सीमा क्षेत्रको व्यापार व्यवस्थित हुनुका साथै राजस्व सङ्कलन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका थिए।

त्यसैगरी नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा अन्य अवाञ्छित गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न सुरक्षा निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको विषयमा पनि सहभागीहरूले धारणा राखेका थिए।

अन्तरक्रियामा उठेका विषयबारे प्रतिक्रिया दिँदै डिआइजी भट्टले सीमा क्षेत्रका समस्या र स्थानीयका मागबारे छलफल भएको जानकारी दिए। बङ्कुलमा पुरानो भन्सार स्थापनाका लागि पहल गर्ने, चोरी–तस्करी नियन्त्रण गर्ने तथा सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधि पूर्ण रूपमा बन्द गर्ने विषयमा कार्यक्रममा आवाज उठेको उनले बताए।

सीमा सुरक्षा प्रभावकारी बनाउने क्रममा स्थानीय नागरिकको दैनिक जीवनयापन र वैध व्यापार व्यवसायलाई समेत सहज बनाउनुपर्ने विषय छलफलको महत्त्वपूर्ण पक्षका रूपमा देखिएको छ।

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने नाममा सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन नदिनु र तस्करी नियन्त्रणका नाममा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्नु दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने स्थानीयको अपेक्षा छ।

सीमा सुरक्षा र नागरिक सहजीकरणबीच सन्तुलन कायम गर्न सके मात्रै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा निकायप्रतिको विश्वास बलियो हुनुका साथै वैध व्यापार र स्थानीय जनजीवनसमेत व्यवस्थित बन्न सक्ने देखिन्छ।

प्रकाशित: ११ मंसिर २०८३ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App