सुनसरीको बर्जु गाउँपालिका– ४ का किसान हरिलाल मण्डललाई आफ्नै खेतमा खेती गर्न ट्रयाक्टर लैजाँदा केही दिनअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले अवरोध गरे। खेतीका लागि ट्र्याक्टर लैजाने क्रममा दसगजा क्षेत्रबाट ट्र्याक्टर चलाउँदा एसएसबीका जवानले नियन्त्रणमा लिएका थिए।
बर्जु– ४ स्थित जुरे हाब्रोनीको पश्चिमपट्टि उनको एक बिघा चार कट्ठा खेत छ। नेपालतर्फबाट सिधै ट्र्याक्टर लैजाने बाटोमा पानी जमेकाले उनले दसगजा क्षेत्र हुँदै ट्रयाक्टर घुमाएर खेतसम्म पु¥याउन खोजेका थिए। सोही क्रममा एसएसबीका जवानले ट्र्याक्टर नियन्त्रणमा लिएका हुन्।
लामो समयको रस्साकस्सीपछि मात्रै एसएसबीका जवानले ट्रयाक्टर छाडेका थिए। मण्डलका अनुसार उक्त खेतमा उनका बाबुबाजेको पालादेखि नै खेती हुँदै आएको छ। अहिले उनको परिवार भने पहिलेको बस्तीभन्दा केही माथि सरेको छ।
‘बाबुबाजेका पालादेखि हाम्रो खेत त्यहीँ छ। बरु अहिले मेरो परिवारचाहिँ अलिक माथि सरेका छौं। पहिले–पहिले एसएसबीका जवानले कहिल्यै दुःख दिँदैनथे। पछिल्लो समय भने बेला–बेला दुःख दिने गरेका छन्’, उनले भने।
मण्डलका अनुसार एसएसबीका जवानले नेपाली किसानलाई खेतीपातीका क्रममा मात्रै नभई दैनिक घरायसी आवश्यकताका सामान ल्याउँदासमेत अवरोध गर्ने गरेका छन्।
भारतबाट मल ल्याउँदा तथा सामान्य घरायसी सामान ओसारपसार गर्दा पनि बेलाबेला दुःख दिने गरेको उनले बताए। उनको यो घटनाले सीमावर्ती क्षेत्रका किसानले पुस्तौंदेखि भोगचलन गर्दै आएको खेतमा खेती गर्न आवतजावत गर्दासमेत समस्या भोग्नुपरेको अवस्थालाई उजागर गरेको छ।
भारतीय सीमावर्ती क्षेत्रमै पर्ने देवानगञ्ज गाउँपालिका -१ को मध्यहर्षाहीमा असोजमा युवतीको विषयलाई लिएर गोली प्रहार भयो। दुई यादव समूहबिच विवाद भएर गोली प्रहार हुँदा वडा नं १ का २४ वर्षे निरजकुमार यादव घाइते भएका थिए।
प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा देवानगञ्ज वडा नं २ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई पक्राउ गरी मुद्दा चलाएको छ। घटनाक्रम अनुसार निरजले वडा नं २ की युवतीलाई मन पराउने गरेकोमा त्यसप्रति असन्तुष्ट युवाले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
सीमावर्ती क्षेत्र तथा आससापमा एकपछि अर्को शृंखलाबद्ध घटना हुने क्रममा साउन १० गते राति त्यसै क्षेत्रमा ठुलो हिंसात्मक घटना भएको थियो। देवानगञ्ज– ३ कप्तानगञ्जमा दुई पक्षबिचको झडपले उग्र रूप लिँदा तीनजनाको मृत्यु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको ज्यान गएको थियो। झडपका क्रममा घाइते भएका ओमप्रकाशको साउन १० गते राति, जयप्रकाशको साउन १४ गते र रवीन्द्रको साउन १९ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो।
उक्त घटनाको मुख्य कारण धार्मिक विवाद थियो। असार १४ मा मुस्लिम समुदायले मोहर्रम मेलाको अवसरमा बजारको बिच भागमा झन्डा गाडेका थिए। पछि साउनमा हिन्दु समुदायले बोलबमको अवसरमा सोही स्थानमा झन्डा गाडेपछि विवाद सुरु भएको थियो।
वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको उक्त विवाद साउन १० गते बोलबम जाने युवाले मन्दिरमा ठुलो आवाजमा ‘डिजे’ बजाएको विषयलाई लिएर दुई पक्षबिच झडपमा परिणत भएको थियो।
सो घटना छानबिन गर्न गठित समितिले भने प्रहरीले नै गोली चलाएको निचोड निकालेको थियो। घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा बाहिरी समूह वा घुसपैठ नभईकन प्रहरीले चलाएको गोली लागेको निचोड निकालेको थियो।
दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीले बाध्यात्मक ढंगले गोली चलाएको प्रतिवेदनमा समेटिएको थियो। घटना नियन्त्रण गर्न पुगेको प्रहरी टोलीको टाउकै फुटेको र प्रहरीले बल प्रयोग नगर्दा प्रहरीसँगै अरू अल्पसंख्यक व्यक्तिको समूह पनि मर्ने स्थिति सिर्जना भएपछि गोली चलाएको प्रतिवेदनमा उल्लेख थियो।
त्यसो त अघिल्लो पुस १७ गते कोसी गाउँपालिका– १ लौकहीका ४४ वर्षीय विजय साह सीमावर्ती क्षेत्रमै सशस्त्र प्रहरीले गोली प्रहार गरी हत्या गर्यो। उनको हत्यापछि यतिबेला ३८ वर्षीया पत्नी गीतादेवीलाई बैंकको ऋण तिने पीडा बढेको छ।
परिवारको आधार नै सधैंका लागि ढलेपछि घर भएको एक कट्ठा घडेरी धितो राखेर सिटिजन बैंकबाट लिएको ऋण तिर्न नसक्दा अहिले घर लिलामी हुने चिन्तामा गीतादेवी छिन्। ‘पतिले सिटी सफारी चलाएको पैसाले परिवारको गुजारा चल्दै आएको थियो। बैंकको ऋण पनि महिनैपिच्छे घट्दै थियो’, उनले भनिन्।
उनका पति विजयको मृत्युपछि आम्दानीको स्रोत बन्द भएको छ। ऋणको बोझ थपिएको छ। ‘ऋण तिर्न नसक्दा बास बस्ने सामान्य घर पनि जाने हो कि भन्ने डर छ’, गीतादेवीले भनिन्।
उनको परिवारमा दुई छोरा र एक छोरी छन्। २२ वर्षीय जेठो छोरा महेष अपांग छन्। अर्का २० वर्षीय छोरा गणेशकुमार साह रोजगारीका लागि साउदी अरब गएका छन्। छोरी पार्वतीदेवीको सप्तरीमा विवाह भए पनि ज्वाइँ डेगिलो नहुँदा माइती घरमै आएर बसेकी छन्।
गीतादेवीलाई अहिलेसम्म सरकारी निकायले कुनै क्षतिपूर्ति दिएका छैनन्। घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले उचित क्षतिपूर्ति, मृतककी पत्नीलाई रोजगारी खोज्न पहल गर्ने, छोरा गणेशलाई सशस्त्र प्रहरीका भर्ना हुन सहजीकरण गर्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सहमति गरेका थिए। साथै, घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति पनि बनेको थियो।
मृतक विजयका परिवारले अहिलेसम्म आफूले एक लाख ५० हजार रुपैयाँ मात्र सहयोग पाएको छ। विजयका दाजु रामचन्द्रका अनुसार प्रदेश सरकारले ५० हजार र सशस्त्र प्रहरीको कोसी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीले एक लाख रुपैयाँ दिएको थियो।
रामचन्द्रका अनुसार पटकपटक जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति माग गर्दा आलटाल गर्ने गरिएको छ। मृतक विजयकी श्रीमती गीतादेवीले सरकारसँग उचित क्षतिपूर्तिका साथै आफ्नो क्षमताअनुसार रोजगारीको व्यवस्था गरिदिन आग्रह गरेकी छन्। ‘काम गर्ने अवसर पाए परिवार पाल्न सक्थे’, उनले भनिन्।
भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरि हत्या गरेको थियो। सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सिटी सफारीचालक साहलाई गोली प्रहार गरेको थियो। पहिलोपल्ट सामान ल्याउँदा सशस्त्र प्रहरीले छाडेको थियो। दोस्रोपटकमा माग गरेको पैसा नदिएको झोकमा गोली प्रहार गरेको जिकिर गरिएको छ।
सो घटनामा संलग्न सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई कानुनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको थियो। समितिले प्रतिवेदन भने सार्वजनिक गरेन। हत्या प्रकरणमा खतिवडालाई केही जिल्ला जिल्ला प्रहरी कार्यालयको हिरासतमा समेत राखिएको थियो। छानबिन समितिका सदस्य जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले खतिवडालाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको बताए।
यसरी सीमावर्ती क्षेत्र तथा ना हुने क्रममै २०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले सीमाभन्दा आठ किलोमिटर वर नेपाल आएर हरिनगर -२ को भुटाहा बजारनजिकै सञ्चालित रैरयान नेसनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० वर्षीय मौलाना खुसिद आलमको गोली हानी हत्या गरेको थियो। उनी आफन्त अमिन अनसारीसँग मोटरसाइकल चढेर घर फर्कदै थिए।
गोली प्रहार गरिएको स्थानबाट भारतीय सीमा क्षेत्र नेपालतर्फको घुस्की आठ किलोमिटर र घुस्कीभन्दा पश्चिमतर्फ भारतीय बासमतीया बजार पाँच किलोमिटर दूरीमा छ। गोली प्रहार भएलगत्तै गाउँलेले प्रहरीलाई सूचना गरेका थिए।
गोली प्रहार गरिएको स्थानभन्दा झन्डै ६ किलोमिटर अगाडि घुस्की प्रहरी हत्तपत सडकमा आएर गोली प्रहार गर्ने समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै गोली प्रहार गरिएको थियो। घुस्की प्रहरी चौकीबाट दुईजना प्रहरी सडकमा निस्किएका थिए।
सडकमा निस्किएका प्रहरीमध्ये एकजनासँग हतियार थियो भने अर्कासँग थिएन। हतियार भएका प्रहरी जवान शिवलाल पौडेल भारतीय समूहले गोली प्रहार गरे। उनी पनि घाइते भएर ढलेका थिए।
सीमा क्षेत्रमै २०७२ मंसिरमा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले नेपाल छिरेर हरिपुर– ७ मा प्रवेश गरी गोली प्रहार गरेर चारजना घाइते बनाएका थिए। एसएसबीका जवानले त्यतिबेला हरिपुरमा छिरेर ताकी–ताकी गोली हान्दा स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए।
अशोकको छातीको बायाँ भागमा, सरोजको तिघ्रामा, नरेशको कम्मर र मनोजको खुट्टामा गोली लागेको थियो। एसएसबीका जवानले दस गजा क्षेत्रभन्दा दुई सय मिटर वर पर्ने नेपालतर्फको हरिपुर वडा नं ७ को बस्तीमा गोली हानेका थिए।
बेलाबेलामा सीमावर्ती क्षेत्रमा स्थानीयबासी र सशस्त्र तथा जनपथ प्रहरीबिच झडप हुनुलाई स्वाभाविक मानिन्छ। यसरी सीमावर्ती क्षेत्र आसपास एकपछि अर्को ठुला घटना हुनु अनि स्थानीय र प्रहरीबिच बेलाबेला झडपसँगै असमझदारी हुँदा जहिल्यै स्थानीयबासी त्रासमा हुने गरेका छन्। ‘सीमा क्षेत्रमा बेलाबेलामा झडप भइरहन्छ’, देवानगञ्ज-५ का ललितकुमार यादवले भने, ‘दुई वर्षअघि पनि मेरै काका जलेश्वर यादवको घरमा कार्जे हुँदा सामान ल्याउँदा सुरक्षामा खटिएका प्रहरीसँग झडप हुन पुगेको थियो।’
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाको खाद्यान्न लगायतका अन्य घरायसी, कृषि सामग्री किनबेच गर्न बढी भारतमै आउजाउ गर्छन्। यसरी सामान खरिद–बिक्री गर्न जाँदाआउँदा सीमा सुरक्षार्थ खटिएको प्रहरीले केरकार गर्छ। अनि सीमामा खटिएका दुवै देशका प्रहरीसँग झडप हुने गर्छ।
प्रकाशित: ११ मंसिर २०८३ १२:१३ शुक्रबार


-600x400.jpg)


-600x400.jpg)