२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य अवस्था स्थिर नहुँदा जलन पीडित नेपालीलाई भारत लैजान कठिनाइ

चिकित्सकको सुझावअनुसार जलनबाट गम्भीर घाइते भएका मुगुका गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत लैजान नसकिने भएको छ। सरकारले घाइते नेपालीको थप उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरे पनि चिकित्सकको सल्लाहअनुसार तत्काल लैजान नसकिएको हो।

प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भारत लगी उपचार गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको अवस्थामा जलन पीडित नेपालीको स्वास्थ्य प्रतिकूल भएकाले तत्काल अन्यत्र लैजान नमिल्ने सुझाव सम्बद्ध चिकित्सकबाट आएपछि नयाँदिल्ली लैजान नसकिएको हो।

यसका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ खटिएका थिए। साथै सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णयसमेत गरिएको थियो।

वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी छ। यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा थप जोखिम हुने चिकित्सकको सुझावपछि सरकारले उनलाई तत्काल भारत नलैजाने निर्णय गरेको हो। चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान सुझाव दिएका छन्।

गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्य वीर अस्पतालमै तयारी अवस्थामा गएरातिदेखि निरन्तर खटिरहेका छन्। बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको ६५ प्रतिशत भाग जलेको छ।

वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा संलग्न छ।

प्रकाशित: २६ असार २०८३ १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App