२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन्। मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन्। खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ। खत्रीको दुई तले घरमा राखिएका भकारी धानले भरिएका छन्।

'एक सय रोपनी खेतमा एक सय ५० मुरी धान फलाउने लक्ष्य थियो,' उनले भने, 'गत वर्षको तुलनामा २० मुरी बढी धान उत्पादन भए पनि मौसमले साथ नदिँदा लक्ष्यभन्दा कम भयो।' सिमकाजी ब्रदर्श भेन्चर प्रालिमार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँखेतीका साथै खत्रीले भैँसीपालन गरेका छन्।

म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्य बाली हुने जमिन मानिन्छ। खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए।

'घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्छु,' खत्रीले भने, 'धान प्रतिपाथी रु चार सय र चामल प्रतिपाथी रु एक हजारका दरले बिक्री हुन्छ।' बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन्।

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो। सहरबजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारीहरू गौरिया धानको चामलका उपभोक्ता हुन्।

'गौरीया धान पाक्दा खेत नै बसाउँछ। भान्छा कोठामा गौरियाको भात पकाउँदा आँगनसम्मै बास्ना आउँछ,' खत्रीले भने, 'गौरीयाको भात खाइरहेकालाई अरू धानको भात रुच्दैन, गौरीया नै खोज्छन्।' स्थानीयवासीहरूका अनुसार चार पुस्ताअघिदेखि खेती हुँदै आएको गौरीयाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको सिमका किसान राजाराम उपाध्यायले बताए। गौरीया धानको चामल भात, पुलाउ, खिर र सेल रोटी बनाउने पीठोका लागि उपयुक्त हुन्छ। न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपिने गौरीया कात्तिक १५ आसपासमा पाकेर भित्र्याउने हुन्छ।

गौरीया धानको दाना अरू जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुन्छ। पकाउँदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकाहरूलाई गौरीया धानको चामलको भात उपभोगी हुने बताइन्छ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन्। वार्षिक रु १० लाखभन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए। एकवटा स्थानीय लिमे–पारकोटे र दुईवटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रापालान पनि गरेका छन्। हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैँसीको सङ्ख्या बढाउने सोचमा छन्।

खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन्। एक जनालाई नियमित, खेती लगाउने र भित्र्याउने समयमा दैनिक ४० जना जनालाई रोजगारी दिएका छन्। वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रूपमा लिएका छन्।

रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका खत्रीका परिवारको बसोबास २०७६ सालअघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा उनका परिवार पोखराबाट जन्मथलो फर्किएका थिए।

'हाम्रा हजुरबुबाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरूलाई नै अधिया र बन्दकी दिएका थियौँ,' उनले भने, 'कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौली साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु।'

पुर्खाहरूले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन्। सिमलाई कृषि, पर्यटकीय गाउँका रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ। बेनीदेखि १२ दशमलव पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिङ्गा तातोपानीदेखि चार दशमलव पाँच किलोमिटर नजिक छ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपालीहरू सहरमा बसाइँसराइ र बिदेसिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव समेत रहेका स्थानीयवासी मोतिलाल पौडेलले बताए। गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना सञ्चालन भएपछि किसानहरूलाई खेतीबाली लगाउन सहज भएको छ। रासस

प्रकाशित: २ माघ २०८२ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App