भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमाराबाट बनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका वडा नं ४ बासापानी निवासी ४४ वर्षीय धनादेवी धामीले ५ लाख क्षतिपूर्ति पाएकी छन्।
धामीलाई टेम्पो फाल्ने डिभिजन बनका कर्मचारीले रु ५ लाख उपलब्ध गराएका हुन्। पीडित धामीलाई ५ लाख रुपैयाँ दिएर टेम्पोको विवाद सहमतिमा समाधान गरिएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीमा डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुर लगायतका बनका कर्मचारी र पीडित धनादेवी बिच छलफल गरेर ५ लाख क्षतिपूर्ति उपलब्ध गराएर सहमति गरिएको प्रहरी नायव उपरीक्षक हिरासिंह महराले बताएका छन्।
सुरुमा बनका कर्मचारीले २ लाख दिन चाहेका थिए। धनादेवीले ५ लाख भन्दा कममा नमान्ने अडानबाट टसमस नभएपछि बनका कर्मचारीले ५ लाख बुझाएको उनले बताए।
कर्मचारीहरूले आपसमा सङ्कलन गरेर ५ लाख बुझाएका हुन्। टेम्पोको क्षतिपूर्ति सहित ५ लाख बुझेको धनादेवीले बताइन्।
भत्काएको घर बनाइदिनु पर्ने र टेम्पोको क्षतिपूर्ति पाउनुपर्ने माग राखेकी धनादेवी टेम्पोको क्षतिपूर्ति ५ लाखमा चित्त बुझाएर विवाद समाधान गर्न सहमत भएकी हुन्।
पीडित धनादेवीले क्षतिपूर्ति पाएर विवाद टुगिएपछि टेम्पो फालेका कारण प्रहरी हिरासतमा रहेका सव डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७÷७ हजार धरौटीमा रिहा गरेको छ।
घटना के थियो ?
वन अतिक्रमण हटाउने क्रममा भिमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका वडा नं ४ को बासपानीमा सडक छेउमा राखेको स्थानीय ४४ वर्षीय धनादेवी धामीको टेम्पो वनका कर्मचारीले गत जेठ २९ गते भिरबाट फालेका थिए।
भिडियो भाइरल भएपछि सर्वसाधारण देखि विद्यार्थी, शिक्षक, प्राध्यापक, व्यवसायी, कानुन व्यवसायी, राजनीतिक दलका कायकर्ता र नागरिक समाजका व्यक्तिले वनका कर्मचारीले टेम्पो भिरमा फालेकोमा चर्को आलोचना गरे। दोषीलाई कारबाही गर्नुपर्ने आवाज उठाएका थिए।
टेम्पोमा खुद्रा समान बेचेर गोदावरी निवासी धामीले जीविका चलाउँदै आएकी थिइन्। वन अतिक्रमण हटाउन आएका कर्मचारीले टेम्पोबाट समान झारेपछि हारगुहार गर्दा पनि नमानेर टेम्पो भिरबाट खसालेको उनको भनाई थियो।
धामीले घर नजिकै रहेको भीमदत्त राजमार्गको गाईमारे डाँडास्थित सडक छेउमा टेम्पोमा चिया, अण्डा,चाउचाउ, पानी लगायतका समान बच्ने गर्थिन्।
तीन छोरा मजदुरीका लागी भारतमा रहेको र घरमा श्रीमान्, आफू र बुहारी रहेको उनले बताइन्। दिनको ३,४ हजार बिक्री गरेर जीविका चलाउने गरेको उनको भनाई छ।
३,४ जना कर्मचारी लागेर टेम्पो भिरमा धकेलेको स्पष्ट देखिएको भए पनि चौतर्फी आलोचना भएपछि डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुर लगायतका वनका कर्मचारीले अतिक्रमण हटाउने क्रममा पटक पटक भन्दा पनि अटेर गरेर टेम्पो हटाउन खोज्दा अनियन्त्रित भएर भिरमा खसेको दाबी गरेका थिए। जीर्ण अवस्थामा रहेको टेम्पो हटाउन खोज्दा भिरमा खसेको उनको भनाई छ।
बनका कर्मचारीले एक विज्ञप्ति निकालेर चक्का र इन्जिन पूर्ण बिग्रेको र धकेलेर सार्न समेत गाह्रो हुने टेम्पो हटाउन निर्देशन दिदाँ नहटाएकोले बल प्रयोग गरी हटाउन खोज्दा भौगोलिक सतह र असन्तुलन गुमाई भिरमा खसेको उल्लेख गरेका थिए।
गरिब महिलाको टेम्पो भिरमा फाल्ने कर्मचारीलाई कारबाही हुनुपर्ने आवाज उठेपछि मात्रै आफ्नो गल्ती लुकाउन डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुर लगायतका कर्मचारीहरूले अस्थिपञ्जर र जीर्ण अवस्थामा रहेको अटो पन्छ्याउन खोज्दा सन्तुलन गुमाएर भिरमा खसेको भनेर झुटो विज्ञप्तिको निकाले।
विज्ञप्तिपछि पनि वनका कर्मचारीले बचाउमा झुटो विज्ञप्ति निकालेको भन्दै जनस्तरबाट थप आलोचना भयो र कारबाहीका दबाब बढेको थियो। चौतर्फी विरोध भएपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीले १२ जना कर्मचारीलाई पक्राउ गर्यो।
एक दिन नियन्त्रणमा राखेर १० कर्मचारीलाई हाजिरी जमानीमा छोडेर पीडित धामीको किटानी उजुरीको आधारमा बन अधिकृत कृष्ण बहादुर वोहरा र वन रक्षक चेत राज फुलारा लाई सार्वजनिक शान्ति हित विपरीतको कसुरमा जिल्ला प्रशासनबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले छानबिनको लागी प्रदेश वन निर्देशकको संयोजकत्वमा छानिबन समिति गठन गरेको छ।
प्रकाशित: १० असार २०८३ १७:३४ बुधबार





