मुख्यसचिव गोविन्दबहादुर कार्कीले सोमबार सचिवस्तरीय बैठक बोलाएका थिए।
केही दिनअघि सिँचाइ विभागका महानिर्देशक र सुनकोसी मरिन डाइभर्सन आयोजना प्रमुखलाई बाटोमै पक्राउ गरी प्रधानमन्त्री कार्यालयमा बुझाइएको विषयमा बैठकमा छलफल हुने अनुमान सचिवहरूले गरेका थिए। तर, बैठकमा सो विषयमा छलफल नै भएन।
उक्त बैठकमा नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त बनाउने विषयमा छलफल भएको एक सचिवले बताए। बैठकमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिक मैत्री सेवा प्रवाह गर्ने गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
एक सचिवका अनुसार उक्त बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख भएका बेरुजु फछ्र्यौट गर्न महालेखा परीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति र बेरुजु फछ्यौट अनुगमन समितिसँग समन्वय गरी सबै मन्त्रालय तथा निकायले बेरुजु फछ्र्यौट तथा न्यूनीकरण कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने-गराउने विषयमा निर्णय भएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ ०९:०७ मंगलबार





