१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पानीदेखि चप्पल उद्योगमा विभागको अनुगमन, एक लाख ३० हजार जरिवाना

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ। विभागले बिहीबार मात्र काठमाडौंका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो।

पिउने पानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ। विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो। 

यस्तै, मंसिर ३ गते काठमाडौंका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो। गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो। मंसिर २ गते विभागले विभिन्न आठवटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई रु ५० हजार जरिवाना गरेको थियो। यस्तै, राजेश स्यानिटरी वेयरलाई रु ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई रु २० हजार जरिवाना गरेको थियो। 

त्यसैगरी, मंसिर १ गते विभिन्न पाँचवटा उद्योग तथा फर्ममा विभागले अनुगमन गरेको थियो। कैफियत देखिएको पाइएपछि विभागले कविता वेभरेज प्रालिलाई रु १० हजार जरिवाना गराएको थियो। बजारलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन विभागले नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ। विभागले स्थानीय सरोकारवालाको समेत साथ लिई बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारेको छ। रासस

प्रकाशित: ५ मंसिर २०८२ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App