१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

७५ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण, ६ जनाको मृत्यु

मुलुकका ७५ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो तथ्यांकअनुसार हालसम्म देशभर सात हजार ७५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ।

महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डोल्पा र मनाङबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएको जानकारी दिए।

कुन प्रदेशमा कति सङ्क्रमित ?

महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा एक हजार ७७५ जनामा सङ्क्रमण देखिएको छ। त्यसपछि बागमती प्रदेशमा एक हजार ७६३ जनामा डेङ्गु पुष्टि भएको छ।

यसैगरि, लुम्बिनी प्रदेशमा १,१६९, कोशीमा ९९३ सुदूरपश्चिममा ७८८ कर्णालीमा ५०० र मधेश प्रदेश: १४७ मा सङ्क्रमण पुष्टि भएको हो।

चिकित्सकहरूका अनुसार डेङ्गु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक सरुवा रोग हो। यो लामखुट्टेले सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि फुल पार्न र हुर्कन सक्छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उच्च ज्वरो आउने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने, आँखाको गेडी तथा टाउको दुख्ने, शरीरमा राता बिमिरा देखिनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेङ्गुका मुख्य लक्षण हुन्।

कतिपयलाई खाना खान मन नलाग्ने र पखाला लाग्नेजस्ता समस्या पनि देखिन सक्छ।

डा. पुनले डेङ्गुको शंका लागेमा चिकित्सकको सल्लाहबिना जथाभावी औषधी सेवन नगर्न आग्रह गरे। ‘ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श लिनु जरुरी छ,’ उनले भने।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट सुरक्षित हुने उत्तम उपाय भएको चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको जोखिम कात्तिक महिनासम्म रहने भएकाले घरवरिपरि पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउन उनीहरूले आग्रह गरेका छन्।

प्रकाशित: १७ कार्तिक २०८२ १८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App