काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी आसपासका सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोधमा शनिबार धरानमा प्रदर्शन गरिएको छ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले धरानमा पनि बस्ती हटाउन खोजिए एकताबद्ध भएर प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
छाताचोकदेखि भानुचोकसम्म निकालिएको र्यालीमा सहभागीहरूले ‘मरे चिहान, बाँचे घर, एकता नै हाम्रो भर’ भन्ने नारा लगाएका थिए। उनीहरूले विकल्पबिना जबर्जस्ती उठिबास गराउने कार्यको विरोध गर्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको नीतिविरुद्ध चर्को नाराबाजी समेत गरे।
प्रदर्शनकारीहरूले ‘हामी पनि नेपाली नागरिक हौं’, ‘गरिबको घर भत्काउने यो कस्तो विकास हो ?’, ‘डोजर होइन विकास दे’ र ‘विस्थापित सुकुम्बासीलाई पुनः स्थापना गर’, ‘तानाशाहको अर्को रूप बालेन’ जस्ता प्लेकार्ड बोकेका थिए।
विकासको नाममा गरिब तथा विपन्न समुदायमाथि अन्याय भइरहेको उनीहरूको गुनासो छ।
धरान उपमहानगरपालिकाको तथ्याङ्कअनुसार यहाँका २० वटै वडामा हाल १८ हजार हाराहारी सुकुम्बासी परिवार बसोबास गर्छन्। कर्मचारी वेदप्रसाद सापकोटाका अनुसार यसअघि १३ हजार ३१० परिवार सूचीकृत रहेकोमा पछिल्लो समय फाराम भर्ने ५ हजार परिवार थपिएका हुन्।
यहाँ भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी गरी तीन वर्गका नागरिक रहेका छन्। धरानको वडा नं-५ मा सबैभन्दा बढी सुकुम्बासीको सङ्ख्या छ भने वडा नं. १७, ११, १५, १६ र ४ मा पनि उल्लेख्य उपस्थिति छ।
वडा नं. १, १२ र १८ मा भने सीमित परिवार मात्र सुकुम्बासीका रूपमा रहेका छन्। यसैबीच, धरानका सुकुम्बासीलाई हटाउन नदिने पक्षमा स्थानीय सरकारले समेत सक्रियता देखाएको छ।
धरानका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले आफू पदमा बहाल रहँदासम्म सुकुम्बासी बस्ती हटाउन नदिने अडान व्यक्त गरेका छन्।
कार्यवाहक मेयरका सचिवालय सदस्य समफर तामाङका अनुसार स्थानीय सरकार सुकुम्बासीको पक्षमा छ र उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बस्तीमै पुग्ने तयारी गरेको छ।
प्रकाशित: १९ वैशाख २०८३ १६:५२ शनिबार


-600x400.jpg)


