१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

छठको सार्वजनिक बिदा बढाउन माग

लोक आस्थाको महापर्व छठको अवसरमा सरकारले प्रदान गर्दै आएको एक दिने सार्वजनिक बिदा पर्याप्त नभएको भन्दै मधेसी अधिकृत समाज नेपालले बिदाको अवधि पुनर्विचार गर्न माग गरेको छ।

समाजका अध्यक्ष भूदेव झाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई छठ बिदाको विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने छठ पर्वका लागि एक दिनको मात्र बिदाले व्रतालु, विद्यार्थी र कर्मचारीलाई असुविधा भएको समाजको तर्क छ। सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ। 

'छठ पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक हो। एक दिनको बिदाले यो पर्वको महत्वमाथि अनादर भएको महसुस हुन्छ,'विज्ञप्तिमा भनिएको छ।

उनले बिदा नदिने निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेको भन्दै बिदाको अवधि बढाउन सरकारसँग जोडदार माग समेत गरेका छन्।  

मधेसी अधिकृत समाजले छठ पर्वको सांस्कृतिक र धार्मिक महत्वलाई सम्मान गर्दै बिदा वृद्धि गर्न सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App