जलवायु परिवर्तन र वातावरणीय नीतिमा बालअधिकारलाई प्राथामिकतामा राख्न सम्वन्धित विज्ञ तथा सरोकारवाले जोड दिएका छन्। काठमाडौमा बिहीबार आयोजित एक राष्ट्रिय संवादमा जलवायु परिवर्तनका कारण बालबालिकाको जीवन, स्वास्थ्य, शिक्षा तथा भविष्यमा पर्ने प्रभावबारे विस्तृत छलफल गरिएको थियो।
वन तथा वातावरण मन्त्रालय, सिवीन नेपाल, युवालय तथा विभिन्न युवा र बालअधिकारसम्बन्धी संस्थाहरूको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमा वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाँईले जलवायु परिवर्तन विश्वकै साझा चुनौती बनेको बताए। उनले यसको असरबाट बालबालिका सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरूको अधिकार संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। उनले दिगो वातावरण निर्माणका लागि प्रभावकारी नीति निर्माण, कार्यक्रम कार्यान्वयन तथा जनचेतना अभिवृद्धिमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बनियाँले जलवायु परिवर्तन र वातावरणीय क्षतिले बालअधिकारमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै बालमैत्री वातावरण निर्माणका लागि राज्य, समुदाय तथा विभिन्न संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका अन्य सहभागीहरूले जलवायु परिवर्तनको चुनौती सामना गर्न सरकार, नागरिक समाज, युवा तथा बालबालिकाबीच सहकार्य र साझा प्रयास अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। साथै भविष्यका पुस्ताको अधिकार सुरक्षित गर्न अहिले नै दिगो तथा प्रभावकारी वातावरणीय नीति र कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा उनीहरुको जोड थियो। कार्यक्रममा सामाजिक क्षेत्रमा कार्यरत ब्यक्ति, विषयविज्ञ, बालबालिका तथा सरकारी अधिकारीको उपस्थिति थियो।
प्रकाशित: २८ फाल्गुन २०८२ १९:०२ बिहीबार





