२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बिपी राजमार्गमा राति कुखुरा बोक्ने गाडीलाई अनुमति दिन माग

सिन्धुली उद्योग वाणिज्य संघले बिपी राजमार्गमा रातिको समयमा कुखुरा बोक्ने सवारीसाधन सञ्चालन गर्न दिन माग गरेको छ।

राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउँदा कुखुरा ढुवानी गर्ने किसान तथा व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको भन्दै संघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग आवश्यक सहजीकरणको लागि आग्रह गरेको हो।

संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित पदाधिकारी तथा किसानको टोलीले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पत्र बुझाउँदै कुखुराजस्ता जीवित पशुपन्छी ढुवानी गर्ने सवारीलाई रातिको समयमा बिपी राजमार्गमा सञ्चालन गर्न दिन माग गरेको हो।

बिपी राजमार्गमा राति सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले सिन्धुलीबाट काठमाडौं पठाइने बोइलर कुखुरा दिनको समयमा ढुवानी गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ।

चर्को घाम, लामो जाम र निर्माणाधीन सडकका कारण गाडीमा रहेका कुखुरा मर्ने गरेको तथा त्यसबाट किसान र व्यवसायीलाई आर्थिक क्षति भइरहेको संघको भनाइ छ।

संघका अनुसार सिन्धुलीबाट मात्रै दैनिक १० भन्दा बढी गाडीमा कुखुरा काठमाडौं जाने गरेका छन्। जीवित पशुपन्छी लामो समयसम्म गाडीमै राख्दा स्वास्थ्यमा असर पर्नुका साथै ठूलो संख्यामा मर्ने समस्या देखिएको व्यवसायीको भनाइ छ।

त्यसैले कुखुरालगायत जीवित पशुपन्छी ढुवानी गर्ने सवारीलाई रातिको समयमा समेत आवतजावत गर्न अनुमति दिन संघले आग्रह गरेको हो।

दुई वर्षअघि आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग अझै निर्माणाधीन अवस्थामा छ। निर्माणाधीन सडकमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम हुने भन्दै काभ्रे र सिन्धुली प्रशासनले राति सवारी सञ्चालनमा रोक लगाउँदै आएका छन्।

रातिको सवारीमा रोक लगाएपछि कुखुरा व्यवसायी थप मारमा परेको धमिजा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक गोविन्द खड्काले बताए।

‘दिउँसो कुखुरा पठाउँदा चर्को घाम र सडकको जामका कारण गाडीमै धेरै कुखुरा मर्ने गरेका छन्। त्यसैले पशुपन्छी ढुवानी गर्ने सवारीलाई रातिमा पनि सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सिन्धुली जिल्लाले मात्रै निर्णय गरेर रातिको सवारी सञ्चालन गर्न सम्भव नहुने भएकाले काभ्रे जिल्लासँग समन्वय गरी आवश्यक निर्णय गरिने बताइन्।

प्रकाशित: २ भाद्र २०८३ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App