२ भाद्र २०८३ मंगलबार
image/svg+xml
ब्लग

आमाले उपहार दिएको बाख्रो सामाजिक सञ्‍जालमा भाइरल, प्रोमिस भन्छन्: अनमोल साथी

आमा चिन्येरे भन्छिन्: कार किन्ने पैसा थिएन, बाख्रो उपहार दिए

यसै महिनाको सुरुतिर स्नातक तहको अन्तिम परीक्षा दिएर हलबाट बाहिर निस्कँदै गर्दा विद्यार्थी प्रोमिस ओकोरो परीक्षा सकिएपछिको रमाइलो गर्ने मुडमा थिए।

उनका साथीहरू परीक्षा केन्द्रबाहिरै ठूलो आवाजमा संगीत बजाएर सफलताको खुसी मनाउन तम्तयार थिए। उनीहरू बिदाइ उत्सवका तस्बिर र भिडियो पनि खिचिरहेका थिए। कतिपय साथीहरू प्रोमिसको सेतो कमिजमा उनका लागि शुभकामना र सन्देशहरू लेखिरहेका थिए। तर त्यही बेला भीडको बीचबाट प्रोमिसकी आमा चिन्येरे एउटा बाख्रा डोर्‍याउँदै आइपुगिन्। आमाको त्यो अप्रत्याशित आगमनले पहिले नै उल्लासमय बनेको त्यो क्षणलाई लामो समयसम्म नबिर्सने क्षणमा बदलिदियो।

२३ वर्षीय प्रोमिस ओकोरो फार्मास्युटिकल टेक्नोलोजीका विद्यार्थी हुन्। सुरुमा क्याम्पस बाहिर अचानक भएको ठूलो होहल्लाका कारण कसैले विवाहको प्रस्ताव राख्न लागेको होला भन्ने उनले ठानेका थिए।

तर केही बेरमै उनले आफ्ना साथीहरू आमाको वरिपरि जम्मा भएको देखे। उनकी आमा एउटा बाख्रा लिएर अगाडि बढिरहेकी थिइन्।

‘म धेरै खुसी भएँ। म निकै भावुक पनि भएँ,’ उनले बीबीसीलाई भने।

यो अप्रत्याशित घटनाक्रमका लागि उनलाई अलिकति पनि लाज लागेन। बरु उनका सहपाठीले उनलाई थप उत्साहित बनाए। तत्काल उक्त घटनाको भिडियो बनेर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। हजारौँ मानिसले त्यसमा सकारात्मक प्रतिक्रिया दिए।

दक्षिणपूर्वी नाइजेरियाको संस्कृतिसँग अपरिचित मानिसलाई विश्वविद्यालयको पढाइ पूरा गरेको अवसरमा बाख्रा उपहार दिनु असामान्य लाग्न सक्छ। तर इग्बो समुदायका मानिसहरूका लागि बाख्रा र बाख्रीको गहिरो सांस्कृतिक महत्त्व छ।

त्यहाँ बाख्रालाई निकै मूल्यवान् उपहार मानिन्छ। यसलाई प्रायः सम्मान, प्रशंसा र सद्भावना व्यक्त गर्न दिइन्छ।

परम्परागत विवाह, पारिवारिक समारोह तथा ज्येष्ठ व्यक्ति वा विशेष पाहुनाको सम्मानमा आयोजना हुने कार्यक्रममा पनि बाख्रा वा बाख्री उपहार दिने चलन त्यहाँ छ।

त्यसो त, प्रोमिसले अहिलेसम्म आफ्नो उक्त अनमोल उपहारको नामकरण गरेका छैनन्।

सामाजिक सञ्जालमा कतिपयले भनेका छन्, स्नातक डिग्री पूरा गर्ने विद्यार्थीले अब यो बाख्रालाई के गर्छ?

तर प्रोमिसले बीबीसीलाई उक्त बाख्रा अब उनको साथी बनेको र उनले यसलाई कहिल्यै काटेर नखाने बताएका छन्।

‘यो अब मेरो पाल्तु जनावर हो। यो मेरा लागि धेरै मूल्यवान् छ। यसलाई मार्ने मेरो कुनै योजना छैन,’ उनले भने। बरु उनको योजना एउटा बाख्री ल्याएर जोडी बनाई प्रजनन गराउने छ।

त्यतिन्जेल प्रोमिसको बाख्रो होस्टलमा विशेष पाहुनाजस्तै गरी बसेको छ। ऊ त्यहाँ स्वतन्त्र रूपमा घुम्छ र उसका आफ्नै विशेष खाले बानी पनि छन्।

‘मैले थाहा पाएँ, यसलाई फ्राइड राइस निकै मन पर्छ। मैले छाडेको फ्राइड राइस यसले जसरी चट् पार्छ, त्यसबाट थाहा हुन्छ। यो त निकै लोभी छ,’ प्रोमिस हाँस्दै भन्छन्।

अब यो बाख्रो एक किसिमले स्थानीय सेलिब्रिटी बनिसकेको छ र प्रोमिससँगै नजिकैको एउटा सुपरमार्केट पनि पुगिसकेको छ। त्यहाँ प्रशंसकहरू यसको तस्बिर खिच्न भीड लाग्छन्।

‘होस्टलबाट नजिकैको मलसम्म कारमा मसँगै ऊ गयो। ऊ अहिले सेलिब्रिटी भइसकेको छ। मभन्दा पनि लोकप्रिय छ। तर अलिकति पनि घमण्डी छैन,’ प्रोमिसले भने।

‘म यसलाई साँझपख वरपरको गल्लीमा घुमाउन पनि लैजान्छु,’ उनी थप्छन्।

त्यसो त, विद्यार्थी प्रोमिसले नयाँ साथी मात्र पाएनन्, उनकी आमा चिन्येरेबाट प्रशंसा पनि पाएका छन्। यो उपहारमार्फत आफ्नो छोरालाई ‘मलाई तिमीमाथि गर्व छ’ भन्न चाहेको र सबैले यो कुरा थाहा पाऊन् भन्ने चाहेको उनकी आमाले बीबीसीलाई बताइन्।

आफ्नो छोरालाई सरप्राइज दिन एक घण्टाभन्दा बढी यात्रा गरेर बाख्रा लिएर चिन्येरे कलेज पुगेकी थिइन्। उनले कुनै समय छोराका लागि चम्किलो नयाँ कार किनिदिने सपना देखेकी थिइन्।

‘मसँग कार किन्ने पैसा थिएन। त्यसैले मैले सोचें, बरु यो सानो उपहार किनिदिऊँ,’ उनले भनिन्।

गाउँमा चिन्येरेको सानो पसल छ, जहाँ उनी खानेकुरा र पेय पदार्थ बेच्छिन्। आर्थिक दबाबका बाबजुद उनले आफ्नो छोरालाई कलेजमा पढाइन्।

छोरा विश्वविद्यालयमा भर्ना हुँदा चिन्येरेले पढाइमा ध्यान दिएमा, गुण्डागर्दी नगरेमा र झगडाबाट टाढा रहेमा उसलाई उपहार दिने वाचा गरेकी थिइन्। अहिले छोराले आफ्नो वाचा र आमाले पनि आफ्नो वाचा पूरा गरेका छन्।

उनले १ लाख २० हजार नाइरा (करिब १३ हजार ३ सय नेपाली रुपैयाँ) मा उक्त बाख्रो किनेकी थिइन्।

‘जब म त्यहाँ पुगेँ र ठूलो उत्सव तथा होहल्ला सुनें, मेरो मन खुसी भयो। मेरो छोरा बाहिर आएपछि सबैसँगै खुसी मनाउन पाउने रहेछ भन्ने देखेर झनै खुसी लाग्यो,’ उनले भनिन्।

प्रोमिस पनि आफ्नी आमासँग निकै नजिक छन्।

‘मेरी आमा निकै असल हुनुहुन्छ। म उहाँबाट केही पनि लुकाउन सक्दिनँ। उहाँलाई कुनै कुरामा दुविधा हुँदा सधैँ मलाई फोन गरेर मेरो राय सोध्नुहुन्छ,’ उनले भने।

फार्मास्युटिकल टेक्नोलोजीका विद्यार्थी प्रोमिसले आफू सधैँ नाइजेरियाका बिरामी मानिसलाई सहयोग गर्न चाहेको बताए।

पढाइ सकेपछि अधिकांश विद्यार्थी राम्रो अवसरको खोजीमा विदेश जाने गरेको उनलाई थाहा छ। देशमै बस्नेहरूले भने प्रायः कठिन परिस्थितिमा काम गर्नुपर्छ।

तर उनी नाइजेरियामै बस्न चाहन्छन्। चुनौतीपूर्ण अवस्थामा रहेको देशको स्वास्थ्य प्रणाली सुधार गर्न उनी योगदान दिन चाहन्छन्। उनी आफ्नो परीक्षाको नतिजा राम्रो आउने आशामा छन्।

प्रोमिसका लागि पढाइ पूरा गर्नुको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्नु मात्र होइन। उनकी आमा लामो समयदेखि आफ्नो छोरा स्नातक भएको हेर्न पर्खिरहेकी थिइन्।

‘उहाँले जसरी मलाई सरप्राइज दिनुभयो, अब म पनि उहाँलाई सरप्राइज दिनेछु,’ प्रोमिसले भने।

तर प्रोमिस आफैँ स्वीकार गर्छन्,आमाले दिएको जस्तो सरप्राइज आफूले आमालाई दिन सायद उनी सक्दैनन्।

यसरी, गाउँबाट आफ्नो छोराका लागि प्रेमपूर्वक ल्याइएको एउटा साधारणजस्तो देखिने खैरो बाख्रो अहिले सामाजिक सञ्जालमा हजारौँ मानिसलाई जोड्ने कथा बनेको छ। सामाजिक सञ्जालमा सबैले यसलाई खुसीको क्षणका रूपमा देखेका छन्। (बीबीसीबाट साभार)

प्रकाशित: २ भाद्र २०८३ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App