दसैँको नौरथा जारी छ। नौरथामा व्रत बस्ने चलन छ। यही चलनले गर्दा दसैँको चहलपहलसँगै केराको माग बढेको छ।
घटस्थापनाका देखि ९ दिन सम्म नौरथा (नौरतन) को व्रत बस्ने र पूजाआजा गर्नेहरू बढी हुने हुँदा केराको माग दोब्बर भएको हो। सदरमुकाम तौलिहवामा फलफूल बेच्ने थोक व्यवसायीहरू केराको माग बढेपछि उत्साहित छन्।
उनीहरूलाई अहिले अन्य फलफूल भन्दा केरा बेच्ने चटारो छ। माग बढेपछि उनीहरूले नवलपरासीको त्रिवेणीबाट केरा किनेर ल्याउने गरेका छन्।
पहिले दैनिक २० देखि ३० क्विन्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक सय क्विन्टल बढी बिक्री पुगेको तौलिहवाको हाट बजारका फलफूल व्यवसायी सनिउल्लाह कुजाडाले बताए।
पहिले सातामा ३ पटक डिसिएममा केरा आउँदथ्यो भने अहिले दैनिक ५ डिसिएम केरा लागिएको छ। ‘अहिले दैनिक सय क्विन्टल बढी केरा बिक्री हुन्छ,’ उनले भने ‘माग बढी आइरहेकाले अझै बढ्ला जस्तो छ, जति बढे पनि पुर्याउने किसिमले प्रबन्ध मिलाएका छौँ।’
एक डिसिएममा २० क्विन्टल केरा ल्याउने गरिएको छ। अर्का फलफूल व्यवसायी मन्सुरीलाई पनि केरा बेच्न भ्याईनभ्याई छ। उनले अहिले दैनिक २० देखि ४० क्विन्टल बढी केरा बिक्री गरिरहेका छन्। पहिले दैनिक ५ क्विन्टल केरा बिक्री गर्दै आइरहेकामा दसैँ लागेपछि बिक्री बढेको उनले बताए।
गत वर्षभन्दा यस वर्ष केराको बिक्री बढेको उनले बताए। ‘आर्थिक मन्दीले बजारमा चहलपहल समेत कम छ। तर केराको बिक्री बढेको छ’,उनले भने।
सदरमुकाम तौलिहवाका थोक व्यापारीहरूले केरा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गरेको बताउँछन्। यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केराहरू बिक्री वितरण हुँदै आएका छन्।
नौरथाका बेला धेरै जना व्रत बस्ने र पूजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रूपमा रहेको केरा बढी प्रयोग हुने व्रतालुहरू बताउँछन्।
भारतबाट केरा ल्याउन रोक लगाइएपछि कपिलवस्तुका फलफूल व्यापारीले नवलपरासीको त्रिवेणीबाट केरा ल्याउने गरेका छन्।
त्रिवेणी रानीनगर, गुढीपेरमौनी खुढीया, चिनी मिल, मर्चहवा नरसिही लगायतका स्थानबाट केरा ल्याउने गरिएको छ। उनीहरूले प्रतिकिलो २५ रुपैयाँमा केरा किनेर ल्याउने गरेको व्यापारीहरू बताउँछन्।
प्रकाशित: १ कार्तिक २०८३ १९:०४ शनिबार





