पछिल्लो वर्षयता उदयपुरमा यौन दुर्व्यवहार (जबरजस्ती करणी)का घट्नामा कमी देखिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार पछिल्लो ३ वर्षयता जबरजस्ती करणी तथा करणी उद्योगका घट्नामा कमी आएको हो।
प्रहरी कार्यालयको त्रिवर्षीय विवरण अनुसार गएको २ वर्षभन्दा पछिल्लो आर्थिक वर्ष ०८१/८२ मा जबरजस्ती करणीका घटना आधा नै कम घटेको छ । ०८१/८२ मा यौन दुर्व्यवहारका घट्नामा संलग्न आरोपमा २६ जनलाई पक्राउ गरिएको छ भने २६ वटै मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
जब कि अघिल्लो वर्ष ०८०/८१ मा ३७ वटा मुद्दा दर्ता भएका थिए भने ३४ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको थियो । अझ त्यसअघिको वर्षमा यौन दुर्व्यवहार घट्नामा संलग्नको पक्राउ र मुद्दा दर्ताको संख्या धेरै बढी थियो । आर्थिक वर्ष ०७९/८० मा जबरजस्ती करणी घट्नामा संलग्न आरोपमा ४० जना पक्राउ परेका थिए भने ४८ वटा मुद्दा दर्ता भएको अभिलेख प्रहरीसँग छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले विगत दुई वर्षको तुलनामा पछिल्लो आर्थिक वर्ष यौन दुर्व्यवहारका घट्नामा कमी आएको बताए । उनका अनुसार पछिल्लो वर्ष जिल्ला प्रहरी कार्यालयबाट भन्दा बढी आरोपीहरू पक्राउ र मुद्दा दर्ता इलाका प्रहरी कार्यालयहरु कटारी, बेलटार र रामपुरमा भएको छ । जिल्ला प्रहरीमा ८ जना पक्राउ र ९ वटा मुद्दा दर्ता भएको ०८१/८२ मा इलाकातर्फ १७ मुद्दा दर्ता र १८ पक्राउ परेका छन् ।
पछिल्लो वर्ष इलाकातर्फ पनि सबभन्दा बढी कटारीबाट ११ जना पक्राउ परेका छन् भने ९ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी इप्रका रामपुरबाट ४ जना पक्राउ पर्दा ५ वटा मुद्दा दर्ता र इप्रका बेलटारबाट ३ पक्राउ तथा ३ वटै मुद्दा दर्ता भएको अभिलेख डिएसपी दोङले दिए ।
त्यसअघि आर्थिक वर्ष ०८०/८१ मा जिल्लातर्फ १२ जना पक्राउ पर्दा १४ वटा मुद्दा दर्ता भएका थिए भने इलाकातर्फ २२ जना पक्राउ र २३ मुद्दा दर्ता भएका थिए । जसमा इप्रका कटारीबाट ९ जना पक्राउ र ७ मुद्दा दर्ता, रामपुरबाट ७ जना पक्राउ र ११ मुद्दा दर्ता हुँदा इप्रका बेलटारबाट ६ जना पक्राउ र ७ वटा मुद्दा दर्ता भएको थियो।
३ वर्षअघि ०७९/८० मा जिल्लामा १६ जना पक्राउ पर्दा १८ वटा मुद्दा दर्ता भएको थियो भने इलाकातर्फ २२ पक्राउ तथा ३० मुद्दा दर्ता भएको तथ्याङ्क प्रहरी कार्यालयमा अद्यावधिक छ ।
स्थानीय तहअन्तर्गत पछिल्लो वर्ष सबभन्दा बढी यौन दुर्व्यवहारका घटना कटारी नगरपालिमा घटेको छ भने सबभन्दा कम रौतामाई गाउँपालिकामा । कटारीमा ९ वटा जबरजस्ती करणीका घटना हुँदा बेलका नगरपालिकामा ५, सदरमुकाम त्रियुगा नगरपालिकामा ४ वटा घटेका छन् । त्यस्तै उदयपुरगढी गाउँपालिकामा ५, चौदण्डीगढी नगरपालिकामा ४ वटा घटना हुँदा ताप्ली र लिमचुङबुङ गाउँपालिकामा जबरजस्ती करणीका कुनै घटना भएको अभिलेख प्रहरीसँग छैन ।
जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगीले यौन दुर्व्यवहारको घट्नामा कमी आउनु खुसीको कुरा भएको बताए । उनले मुलुकी अपराध संहिताको कडाइ, प्रहरी सक्रियता, प्रहरी–समुदाय साझेदारी अभियान र जनतामा आएको सचेतनाले पनि यस्ता घट्नामा कमी आउँदै गएको बताए ।
प्रकाशित: ५ श्रावण २०८२ १३:५० सोमबार