नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनको सम्भावित आकार र गहिराइबारे राज्यका गुप्तचर निकायहरूले विश्लेषण गर्न नसकेको बताएका छन्।
उनले आन्दोलन सुरु हुनुभन्दा अगाडि नै आफ्नै घरमा छोरीमार्फत यसको संकेत पाए पनि राज्यका संयन्त्रहरू भने बेखबर रहेको टिप्पणी गरे।
सोमबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुरा गर्दै पन्तले भने, ‘यो घटना हुनुभन्दा ४-५ दिनअघि नै मेरी छोरीले साथीहरूबीच भ्रष्टाचारविरुद्धको आन्दोलनमा जानेबारे छलफल भइरहेको सुनाएकी थिइन्। यसले मलाई आन्दोलनमा युवाहरूको ठूलो सहभागिता हुन सक्छ भन्ने संकेत दिएको थियो।’
उनले एउटा सामान्य परिवारमा यसबारे छलफल हुँदा राज्यका गुप्तचर एजेन्सीहरूले किन यसको पूर्वआंकलन गर्न सकेनन् भनी प्रश्न उठाए। ‘यो आन्दोलनमा हजारौं युवा सडकमा आउँछन् भन्ने विश्लेषण हाम्रा गुप्तचर एजेन्सीहरूले गर्न सकेनन्,’ पन्तले भने, ‘त्यसैले यो उनीहरूको असफलता हो।’
उनले भ्रष्टाचारविरुद्धको आन्दोलनको उद्देश्य पवित्र भए पनि नेतृत्वविहीन हुँदा यो अनियन्त्रित र अराजक बनेको बताए। ‘जेनजी आन्दोलनको कुनै नेता थिएन, कुनै कार्यक्रम थिएन र कहाँ गएर टुंगिन्छ भन्ने पनि थिएन,’ उनले भने, ‘यस्तो अवस्थामा आन्दोलनमा घुसपैठ हुने र हिंसामा परिणत हुने खतरा रहन्छ।’
उनले आन्दोलनकारीले ११:३० बजे नै कार्यक्रम सकिएको घोषणा गरे पनि पछि संसद भवनको पर्खाल तोड्न ‘गल’ र ‘घन’ जस्ता हतियार प्रयोग हुनुले आन्दोलनमा अन्य तत्वहरूको घुसपैठ भएको पुष्टि हुने दाबी गरे।
उनले यस्ता घुसपैठको पहिचान गर्न नसक्नु पनि सुरक्षा निकायको कमजोरी भएको औंल्याए।
नागरिक फन्ट्रलाइनको पुरा एपिसोड हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित: ६ आश्विन २०८२ २१:२० सोमबार





