सुत्केरी गराउन प्रादेशिक अस्पताल जनकपुरमा पुगेकी धनुषाको औरही गाउँपालिका–२, देउरीकी २६ वर्षीया अञ्जिना यादवको मृत्यु प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुत्केरी अञ्जिनाको उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गरी कारबाहीको माग गरेका हुन्। चिकित्सकको लापरवाहीले अञ्जिनाको मृत्यु भएपछि पीडित पक्षले आन्दोलन गर्दा चिकित्सकले ‘पेनडाउन’ को नाममा स्वास्थ्य सेवा बन्द गर्ने कार्य तुरुन्त रोक्न उनले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
चिकित्सकको लापरवाहीका कारण तीनजना बालबालिका आमाको मायाबाट वञ्चित भएका छन्। त्यसको जिम्मेवारी कसले लिने र पीडित परिवारको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने प्रश्न सांसद यादवले सरकारसँग गरेका छन्।
‘आफ्नो परिवारको सदस्य गुमाएपछि पीडित पक्षले उपचारमा संलग्न चिकित्सकमाथि छानबिनको माग राखी आन्दोलन गर्दा प्रादेशिक अस्पतालका चिकित्सकले ‘पेनडाउन’ को नाममा ओपीडी सेवा बन्द गर्ने जस्ता निन्दनीय कार्य गरिरहेका छन्,’ उनले भने, ‘मानिसको स्वास्थ्यभन्दा चिकित्सकको आन्दोलन ठूलो हुन सक्दैन। त्यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग माग गर्दछु।’
शल्यक्रिया गरी बच्चा निकालेको चार दिनपछि गएको शुक्रबार चिकित्सकले अञ्जिनालाई मृत घोषणा गरेपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको थियो।
त्यसपछि अस्पताल प्रशासनले आन्दोलनरत पीडित पक्षसँग ९ बुँदे सम्झौता गरेको थियो। अस्पताल प्रशासनले पीडित पक्षसँग गरेको सम्झौताअनुसार शल्यक्रियामा संलग्न चिकित्सकलाई निलम्बन गरेपछि चिकित्सकले ‘पेनडाउन’ गर्दै स्वास्थ्य सेवा ठप्प पारेका छन्।
यसअघि उनका दुई बच्चा सामान्य रूपमा जन्मिएका थिए। तर तेस्रो बच्चा जन्माउन प्रादेशिक अस्पताल पुगेकी अञ्जिनालाई शल्यक्रियामार्फत बच्चा निकाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए। चिकित्सकको सुझावअनुसार अञ्जिनाको परिवार सहमत भएपछि शल्यक्रियामार्फत बच्चा निकालिएको थियो।
केहीबेरमा अञ्जिनाको पेट फुल्न थालेपछि चिकित्सकले पाठेघर हटाउनुपर्ने जानकारी परिवारलाई दिएका थिए। परिवार सहमत भएपछि पुनः पाठेघरको शल्यक्रिया गरिएको थियो। पाठेघरको शल्यक्रियापछि अत्यधिक रक्तस्राव हुन थालेको थियो। रक्तस्राव नरोकिएपछि उनलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो। भर्ना भएको चार दिनपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रकाशित: १२ जेष्ठ २०८३ १८:४५ मंगलबार





