१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

सप्तरी, गुल्मी र सिन्धुलीमा डुबेर चार बालबालिकाको मृत्यु

फाइल तस्बिर।

देशका विभिन्न स्थानमा पोखरी, खोला र नदीमा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।

सप्तरी, गुल्मी र सिन्धुलीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।

सप्तरीको खडक नगरपालिका-५ रंजितपुर टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

स्थानीय नविन चौधरीकी ८ वर्षीया छोरी आचल कुमारी चौधरी आइतबार दिउँसो नुहाउने क्रममा पोखरीमा डुबेर अचेत भएकी थिइन्।

उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका-४ दिगामचौर चेप्टेढुङ्गास्थित बडिगाड खोलामा डुबेर सोही ठाउँका १२ वर्षीय मदन रेश्मीको ज्यान गएको छ। मुसिकोट नगरपालिका-४ गजुङ्गा बस्ने भीम बहादुर रेश्मीका छोरा मदनको आइतबार दिउँसो खोलामा डुबेर मृत्यु भएको हो।

यता, सिन्धुलीको सुनकोशी गाउँपालिका-५ सित्खास्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनकोशी गाउँपालिका-३ बोहोरेटार बस्ने ९ वर्षीय सफल पुलामी मगर र सोही गाउँपालिका-५ बन्दीपुरका १० वर्षीय युकेस विक रहेका छन्।

पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी रातामाटाबाट प्रहरी टोली खटिएको थियो।

स्थानीयको सहयोगमा खोजी गर्दा दुवै बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। हिउँद सकिएर गर्मी बढेसँगै नदी र पोखरीमा नुहाउने क्रममा हुने यस्ता दुर्घटनाप्रति प्रहरीले सचेतना अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App