१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

‘राइनो क्रुज’ निकाल्न गरिएको दिनभरको प्रयास असफल

नारायणी नदीमा आएको बाढीले आइतबार साँझ बगाएर ल्याउँदा पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्न गरिएको दिनभरको प्रयास असफल भएको छ। आइतबारदेखि नै क्रुज निकाल्न गरिएको कोसिस सोमबार साँझसम्म सफल हुन सकेन। 

नारायणी नदीमाथि बनेको चार दशकभन्दा पुरानो पुलको पिल्लरमा क्रुज अड्किएपछि पुललाई नै जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिए। सोमबार दिउँसो क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस गरिए पनि क्रेनको डोरी चुँडिएपछि क्रुज तान्ने काम सोमबारका लागि स्थगित गरिएको रानाको भनाइ छ। ‘सोमबार दिउँसो दुई वटा क्रेन र एउटा एक्साभेटरको प्रयोग गरेर क्रुज तान्ने काम गर्‍यौँ’ उनले भने, ‘क्रुज अड्किएको पिल्लरबाट केही माथि (उत्तर)तिर तानेपछि डोरी चुँडिदा सोमबारका लागि क्रुज तान्ने काम स्थगित गरिएको छ।’  

क्रुज तान्नका लागि चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रो प्रोजेक्टको ८० टन क्षमताको क्रेन तथा नारायणघाट-बुटवल सडक विस्तार योजनाको क्रेन तथा एउटा एक्साभेटरको प्रयोग गरिएको रानाले जानकारी दिए। पुलको पिल्लरमा अड्किएको क्रुज तान्ने क्रममा पुलमाथिबाट सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको थियो। क्रुज निकाल्न क्रेनले तान्दा पुलमाथि कुनै पनि खतरा नहोस् भनी सवारीसाधन आवागमनमा रोक लगाइएको रानाले बताए। 

उता नारायणी नदीमा गत वर्षदेखि व्यावसायिक प्रयोजनका लागि चलाइएको राइनो क्रुज बाढीले बगाउँदा सुरक्षित रूपमा पार्किङ नगरिएको भन्दै प्रश्न उठेको छ। साथै नदीमा राखिएको नेपालकै एक मात्र र ठुलो क्रुज आपतकालीन व्यवस्थापनबारे सञ्चालकले गरेको तयारीका विषयमा पनि स्थानीय प्रशासनले प्रश्न उठाएको छ। क्रुज सञ्चालक संस्थाको लापरबाहीको कारण क्रुज बगेर नदीको पिल्लरमा अड्किएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आरोप छ। 

राइनो क्रुजका प्रबन्ध निर्देशक दीपक ढुंगेलकाअनुसार क्रुजलाई नारायणी नदीमा पार्किङ गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै बाँधेर राखिएको थियो। सुरक्षाका लागि क्रुजलाई २० एमएमको दुई वटा ‘टु-चेन’ डोरीहरू तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसारका उपायहरू अपनाएर बाँधिएको ढुंगेलले दाबी गर्नुभयो। यद्यपि, प्राकृतिक विपत्तिका कारण नारायणी नदीमा आएको पानीको ठुलो बहावलाई थेग्न नसकेर क्रुज बगेको उनको भनाइ छ। 

ढुंगेलका अनुसार क्रुजको तौल ६० टनको रहेको छ। नदीमा अड्किएको क्रुज ९५ फिट लामो र २१ फिट चौडा भएकाले क्रुजमा प्रयोग गरिएको फलाम काटेर निकाल्न पनि सहज नभएको ढुंगेलले बताए। विपद्मा गर्नुपर्ने तयारीका विषयमा उहाँले आफूहरू यसका प्रवर्द्धक मात्र भएकाले यस्तो प्राकृतिक विपद्को समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताए। 

आइतबार रातिदेखि नै पुलमा अड्किएको क्रुज निकाल्नका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवनका प्रमुख जिल्ला अधिकारी एवम् तीन वटै सुरक्षा अङ्गका व्यक्तिहरू घटनास्थलमा खटिएका छन्। मिनी क्रुज २०७९ माघ १ गते सञ्चालनमा आएको थियो। गैँडाकोट आउनु अघि यो कुज भरतपुर महानगरपालिका १६ स्थित शिवघाटमा रहेको थियो। भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन राखिएको थियो। क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न पाउँछन्। क्रुजसिपमा ३ तला छ।

प्रकाशित: १२ आश्विन २०८३ २०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App