दसैँ घरआँगनमै आएको छ। मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ तर कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर सपना मात्रै बनेको छ। दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैँले शिविरवासीको पीडा झन् थपिदिएको छ।
शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगत सम्झिँदै भनिन्, “कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैं मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ।”
“दसैँमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर त छ एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए”, उनी भन्छिन्।
वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन्। युवा मजदुरीका लागि भारत गएका छन्। दसैं भए पनि फर्किएका छैनन्। शिविरवासी देउमती देवी बोहराले भनिन्, “कमाइ नभएकाले तिहारमा फर्किन्छु भन्ने खबर गरेका छन्। यसपालि दसैँ खल्लो हुने नै भयो।”
शिविरका बालबालिका र वृद्धवृद्धा बिरामी पर्दा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था छ। “नयाँ लुगा किनेको वर्ष दिनभन्दा धेरै भयो, मीठोमसिनो खानु त टाढाका कुरा भयो, बिहान साँझको छाक जुट्यो भने ठूलो कुरा हुन्छ”, उनले भनिन्।
वनहरा नदी किनारमा टालटुल गरेर बनाइएका झुपडीमा राखिएका त्रिपाल दातृ निकायले उपलब्ध गराएका हुन् तर त्रिपालभित्र गर्मी असह्य हुने भएकाले धेरै परिवार राति पुलमुनि सुत्न बाध्य छन्।
रञ्जित रावत भन्छन्, “कोही डोरीको खटिया राखेर सुत्छौं, कोही भुइँमै बोरी ओछ्याएर, लामखुट्टेले रातभर टोकेर निन्द्रै पर्दैन, ओढ्ने-बिछ्याउने छैन, जसोतसो रात काट्छौं।”
दुई महिनाअघि बाढीको त्रासले राजमार्ग किनारमा सरेका परिवार फेरि पुरानै ठाउँमा फर्किएका छन् तर समस्या उस्तै छ।
दलबहादुर बोहराले भने, “पुलमुनि सुत्दै आएको वर्षौं भयो तर हाम्रोबारे सोच्ने कोही छैन, झुल, त्रिपाल र टर्चको व्यवस्था गरिदिन वडादेखि नगरपालिकासम्म धायौँ, सुनुवाइ भएन।”
सुरुमा जनप्रतिनिधिले समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिले मौन बसेको शिविरवासीको गुनासो छ। “अब त माग्न जानै छाडेका छौँ”, उनीहरू भन्छन्।
वनहरा शिविरमा बसोबास गर्ने २८ परिवारले भूमि समस्या समाधान आयोग मार्फत जग्गा र आवासका लागि निवेदन दिएका छन्। बसोबासको टुङ्गो भने लागेको छैन। झण्डै दुई दशकदेखि भूमिहीन परिवार वनहरामा झुपडीमा बस्दै आएका छन्। हरेक वर्षजस्तै यसपालिको दसैँले भूमिहीन परिवारको जीवनमा खुसीभन्दा पीडाको घाउ बोकेर आएको छ।
प्रकाशित: १४ आश्विन २०८२ ०९:०८ मंगलबार





