पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय बिजुलीको पहुँचमा पुगेका छन्। भौगोलिक रूपमा विकट मानिने यो वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको छ।
वडाध्यक्ष बोमप्रसाद राईका अनुसार बिजुली विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ। ‘दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ। ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ,’ उनले भने।
केही दुर्गम बस्तीमा पोल र तारको अभावमा बिजुली विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ। बाँकी रहेका घरमा पनि बिजुली विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ।
बिजुली विस्तारसँगै वर्षौंदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन्। ‘अब अँध्यारो हटेको छ,’ स्थानीय हर्कराज राईले भने, ‘गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौं।’ अब सूचना र सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ। रासस
प्रकाशित: २६ आश्विन २०८२ ०६:२६ आइतबार





