दाङको तुलसीपुर उपमहानगरपालिका–१० मा अवस्थित आकर्षक पर्यटकीय सम्भावना बोकेको ‘गौरीगाउँ ताल’ आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको छ।
तुलसीपुर बजारबाट नजिकैको दूरीमा सडक सञ्जालको सहज पहुँच भए पनि उचित प्रवर्द्धन हुन नसक्दा यो ताल उपेक्षित बन्न पुगेको हो।
करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यस तालको आफ्नै ऐतिहासिक विशेषता छ। पहिले यहाँ रहेका सातवटा छुट्टाछुट्टै पोखरीहरूलाई मिलाएर अहिले एउटै विशाल तालको स्वरूप दिइएको हो। वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको छ।
तालको बीच भागमा करिब एक करोड रुपैयाँको लागतमा आकर्षक शिव मन्दिर निर्माण गरिएको छ। उक्त मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँच वटा मूर्तिहरू स्थापना गरिएका छन्।
मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल समेत निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताए।
बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने निकै कम छ।
बजार नजिकै रहेको यति ठूलो प्राकृतिक ताल उपेक्षित हुनु दुःखद रहेको भन्दै यसलाई व्यवस्थित गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीको भनाइ छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गौरीगाउँ ताललाई पर्यटकीय गन्तव्य बनाउने दिशामा स्थानीय सरकारले पहल थालिसकेको बताएका छन्।
यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल अघि बढाइएको र सोहीअनुरूप बजेटको व्यवस्था गरिने प्रमुख खड्काले जानकारी दिए।
प्रकाशित: २ श्रावण २०८३ १७:१२ शनिबार





