रौतहटमा दलित समुदायका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा गैरदलितको कुटाइबाट दुई महिलासहित ६ जना घाइते भएका छन्।
दलित समुदायमाथि दुर्व्यवहार एवं कुटपिट भएको घटना गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको पाइएको छ। घटना भएको एक सातासम्म पीडितहरूलाई प्रहरीले न्याय दिन नसकेपछि पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका हुन्।
गाउँमा सामान्य विवादमा गैरदलितहरूले दलित समुदायका महिला एवं पुरुषहरूलाई मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको जानकारी हुँदाहुँदै रौतहट प्रहरीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै पीडितमाथि नै थप पीडा दिने काम गरेको दलित समुदायले आरोप लगाएका छन्।
घटनामा घाइते भएकाहरूले दोषीलाई पक्राउ गर्न पटक–पटक इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवलाई जानकारी गराए पनि दोषी पक्राउ गर्नुको साटो उल्टै पीडा दिने काम गरेको पीडितको आरोप छ।
घटना घटेको करिब एक साता पछि न्यायका लागि पीडितले गरेको पत्रकार सम्मेलनमा सामान्य विवादको क्रममा स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव, नगेन्द्र यादव, सुखारी यादव, गिरधारी यादव, नवीन कुमार यादव र जयप्रकाश यादव लगायतको समूहले लाठी–भाटा लिएर फागुन १९ गते साँझ करिब ६ बजे दलित परिवारको घरभित्र पसेर कुटपिट गरेको आरोप लगाएका छन्।
उनका अनुसार सो समूहले घरभित्र प्रवेश गरेर श्रीमती, छोरीसहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरमा राखिएका सरसामान समेत तोडफोड गरेको आरोप लगाए।
कुटपिटबाट ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती ५० वर्षीया गायत्री देवी रामको शरीरभरि निलडाम देखिएको पत्रकार सम्मेलनमै देखाइएको छ।
त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तीनवटा टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर ७ टाँका लागेको, ललन राम चमारको अनुहार र शरीरभरि निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको तथा शरीरका विभिन्न भागमा घाउ लागे पनि प्रहरीले दोषीमाथि कुनै प्रकारको कारबाही प्रक्रिया अगाडि नबढाएको आरोप लगाए।
पीडितका अनुसार फागुन १९ गते साँझ करिब ६ बजे दुई पक्षबीच सामान्य भनाभन भइरहेकै बेला विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडित बिर्जा राम चमारको आरोप छ।
उनका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट आएको प्रहरी टोलीले कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा आफू र आफ्नो छोरालाई नै पक्राउ गरी हत्कडी लगाएर लगेको आरोप लगाए। पीडितलाई न्यायको साटो प्रहरीले उल्टै थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाएको आरोप छ।
फतुवा विजयपुर नगरपालिकाका मेयरका प्रत्याशी विजय यादव निर्जीवका अनुसार कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै पक्राउ गरेपछि उनले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए।
‘तर उनले कुरा नसुनेपछि मैले रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाललाई फोन गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई थुनामुक्त गरिएको हो,’ विजयको कथन छ।
घटना घटेको एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता गरेको छैन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुरमा गएर जाहेरी दर्ताको आग्रह गर्दा इन्स्पेक्टर यादवले वास्ता नगरेको र उल्टै थर्काउने गरेको आरोप छ।
पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले आँसु झार्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।
यता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उनीहरूलाई पक्राउ गरेको प्रतिक्रिया दिए। निर्वाचनका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै उनले घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताए।
प्रभु साहद्वारा आपत्ति, पीडितलाई न्यायको माग
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दलित समुदायमाथि भएको जघन्य अपराधको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
आजपा अध्यक्ष साहले आफ्ना सामाजिक सञ्जालमार्फत रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ५ सन्तपुर निवासी दलित अभियन्ता एवं आईटी आर्मीको नगर सचिव राजकुमार राम सहित नरेश राम, सीता राम, ललन राम, गायत्री देवी राम र बिर्जा राम लगायतका दलित समुदायमाथि भएको निर्मम कुटपिटको घोर भर्त्सना गर्दछु भनी लेखेका छन्। यस अमानवीय घटनामा संलग्न अपराधीहरूलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन उनले गृह प्रशासनको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।
प्रकाशित: २६ फाल्गुन २०८२ १२:५७ मंगलबार


-600x400.jpg)


