१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘मोन्था’ चक्रवातको त्रास नेपालसम्म, चार प्रदेश प्रभावित हुने

जल तथा मौसम विज्ञान विभागद्वारा सतर्कताको आह्वान

पछिल्ला केही घण्टामा बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको त्रास नेपालसम्म पुगेको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै ‘मोन्था’ चक्रवातको प्रभाव नेपालसम्म पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।  

मोन्था चक्रवात मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि विस्तारै नेपालको मध्य भू–भाग नजिक आउनसक्ने विभागले जनाएको छ।  

जसअनुसार बिहीबार(कात्तिक १३) दिउँसोदेखि शनिबार(कात्तिक १५) बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिएको विभागको विज्ञप्तिमा उल्लेख छ।  

‘उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मधेश र कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।’ साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना पनि विभागले औँल्याएको छ।  

‘बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्नसक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको छ,’ विभागले भनेको छ।  

वर्षाअवधिमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला प्रभावित हुने विभागले जनाएको छ।  

यसअवधिमा नदीमा आकस्मिक बाढी आउने, पहिरो, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा समेत प्रभाव पर्नसक्ने विभागले जनाएको छ।  

के हो ‘मोन्था’ चक्रवात ?  

यसपटक बंगालको खाडीमा विकसित भएको यो चक्रवातको नाम ‘मोन्था’ थाइल्यान्डले दिएको हो। जसको अर्थ ‘सुगन्धित फूल’ हुन्छ।  

एसिया–प्रशान्त क्षेत्रको लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग(इएससिएपी) र विश्व मौसम विभाग(डब्लुएमओ)ले सन् २००० देखि बंगालको खाडी र अरब सागरमा विकसित हुने चक्रवातको नाम दिन सुरु गरेका थिए।  

जसअनुसार बाङ्ग्लादेश, भारत, मालद्विप, म्यानमार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्यान्डले चक्रवातको नाम दिनसक्छन्। ती देशहरूले आफ्नो देशको भाषाअनुसारको वर्णमालाबाट चक्रवातको नाम सूचीमा दिन्छन्। जसअनुसार विकसित हुने चक्रवातको नाम पालैपालो दिइन्छ।  

देशहरू चक्रवातको नाम दिँदा विभिन्न मापदण्ड तोकिएका हुन्छन्। जस्तो प्रस्तावित नामले राजनीतिक, राजनीतिक व्यक्तित्व, धर्म, संस्कार वा लिंगसँग तटस्थ हुनुपर्ने, विश्वभकार कुनै पनि समुदायको भावनामा आहत गर्न नहुने, कठोर, अपमानजनक, निर्दयीपूर्ण आशयको हुन नहुने, छोटो, सजिलो र उच्चारणयोग्य हुनुपर्ने, अधिकतम आठ अक्षरको मात्र हुनपर्ने हुन्छ। एक पटक प्रयोग गरिएको नाम दोस्रो पटक प्रयोग गर्न पाइदैन।  

विज्ञहरूकाअनुसार हिन्द महासागरमा हरेक वर्ष सामान्यतयाः पाँच चक्रवात विकसित हुन्छन्। जुन हिसाबले आगामी २५ वर्षसम्म विकसित हुने चक्रवातका नाम तय भइसकेका छन्।  

तीब्र गतिमा दौडदै  

मोन्था चक्रवातको गति १५ किलोमिटर प्रतिघण्टाको दरले उत्तर–पश्चिमतर्फ सरिरहेको छ। मन्था चक्रवातले भारतका आन्ध्र प्रदेश, ओडिसा, तामिलनाडू, महाराष्ट्र ठुलो प्रभाव पार्ने भारतीय सञ्चरमाध्यमले जनाएका छन्।

चक्रवातको सामनाका लागि त्यहाँ ठुलै तयारी गर्दै सतर्कता अपनाउने क्रम चलिरहेको छ। ओडिसा प्रदेशका केही स्थानमा मोन्था प्रवेश पनि गरिसकेको बताइएको छ।  

भारत र नेपालबाहेक बाङ्ग्लादेश, म्यानमार र श्रीलंकामा पनि आंशिक प्रभाव पर्ने बताइएको छ।  

प्रकाशित: ११ कार्तिक २०८२ १७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App