बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ।
जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आर्थिक वर्षको २०८१/०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ।परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर उपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए। परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए।
विद्युतीय अपराधसँग सम्बन्धीत बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक बर्ष २०८१ /०८२ को र तीन मुद्दा आर्थिक बर्ष २०८२ /०८३ को रहेको प्रहरीले जनाएको छ।सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको थियो।
प्रहरीका अनुसार आव २०७९/ ८० मा १०६, आव २०७८/७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए। विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ। प्रहरीका अनुसार साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ। साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।
प्रकाशित: ३० श्रावण २०८३ ०६:१६ शनिबार


-1200x560-600x400.jpg)


-600x400.jpg)